गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति यादव


काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन् । बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए ।
काभ्रे सेवा समाजद्वारा आयोजित बुद्ध जयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीय स्थल नमोबद्धसम्म आयोजित बृहत् शान्ति पदयात्राको आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले परिवर्तित समयमा पनि गौतमबुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए ।
“गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ”, उनले भने ।
गौतमबद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–इँटे–शङ्खु– शङ्खेश्वरी–जङ्गल हुँदै नमोबद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । समाजले यसअघि २०८० असोजमा पनि सोही ‘रुट’मा पदयात्रा आयोजना गरेको थियो ।