Ad Image

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत कुट्ने एक जना पक्राउ, मेयर र वडा सदस्य अझै फरार

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747118716.jpg

रौतहट । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न एक जना पक्राउ परेका छन् । 
 

तर मेयर किशोरी साह कलवार र एक जना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले काठमाडौँ सिंहदरबार परिसरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ।

 

सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौँ आएका थिए।प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए।

 

कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकिय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए। घटनामा संलग्न वडा सदस्य गुप्ता फरार भएका छन्।


बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म  मुद्दाको प्रक्रियामा अगाडी नबढेको तथा  घटना बारे अनुसन्धान जारी रहेको बताएका छन्। उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि गर्ने दबाब, दमन, अत्याचारलाई छर्लङ्ग पार्छ ।

 

घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन्।  नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन्।

 
यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथी सेवा लगायत नगरको सरसफाई शिर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो। तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दबाब दिँदै आएका थिए।

 
त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दबाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिओम जैसवालले बताएका छन्।

 
गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोहको अगुवा महिला ममता शर्माले पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए। मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिए । जैसवालले मेला शिर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याईएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया भुक्तानी दिन नसक्ने बताएपछि उनीमाथि कुटपिट भएको थियो ।