नेपालगन्जमा ‘मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु


नेपालगन्ज । पूर्वखेलाडीहरुको सक्रियतामा नेपालगन्जमा आजदेखि प्रथम नगरस्तरीय ‘मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै नेपालगन्ज खेलाडीहरूको उर्वर भूमि भएको बताए ।
उनले नयाँ खेलाडी उत्पादनका लागि पूर्व खेलाडी समाजको कदम सराहनीय रहेको भन्दै प्रतियोगितालाई निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । खेलाडी उत्पादन गर्ने प्रमुख थलो विद्यालय भएकाले विद्यालय स्तरबाटै खेलकुदमा लगानी गर्न पालिकाले प्रयास गरिरहेको नगरप्रमुख विष्टको भनाइ छ ।
समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्धिकीले खेलकुदमा योगदान दिएका पूर्व खेलाडीलाई एकीकृत गर्दै खेल क्षेत्रको संवर्द्धन र विकास गर्ने उद्देश्यले गत वर्ष पुसमा पूर्व खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए ।
समाजले नेपालगन्ज रङ्गशालास्थित कभर्डहलमा यु–१५ ब्वाइज सिङ्गल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ब्वाइज यु–१५ तर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ टोलीको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्तकुमार श्रेष्ठले जानकारी दिए ।
ब्वाइज यु–१५ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार ५०० तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । समाजले यही जेठ १६ देखि १८ गतेसम्म विद्यालय स्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्दै छ । प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।