दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा जम्मा गरिदियो आठ लाख
‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २ सय ३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो ।
No Author Assigned | २०८१ भदौ १३ गते २२:१२
दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २ सय ३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो ।
उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पुर्याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ‘छोरी सम्मान कार्यक्रम’ सुरु गरेको थियो । दङ्गीशरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीका अनुसार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा १ सय २३ जना र आर्थिक वर्ष २०८०/८१ मा एक सय एक जना गरेर २ सय ३२ जना छोरीको खातामा पैसा जम्मा गरिएको हो । अहिलेसम्म २३२ जना छोरीको खातामा छ लाख ३९ हजार तीन सय रुपियाँ जम्मा भएको छ ।
यसरी जम्मा भएको पैसा पालिकाको स्वीकृतिमा छोरीहरूले शिक्षाका लागि खर्च गर्न पाउने व्यवस्था गरिएको छ । दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक रूपमा विपन्न परिवारका छोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने उद्देश्यले छोरी सम्मान कार्यक्रम सुरु गरिएको बताए।
गाउँपालिकाले १८ वर्षसम्म प्रत्येक महिना तीन सयका दरले खातामा पैसा जम्मा गरिदिन्छ । छोरीहरूको नाममा जम्मा गरिएको पैसा १८ वर्ष पुगेपछि छोरीहरूले मात्रै निकाल्न पाउने कानुनी व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए ।
Facebook Comments