अत्यधिक गर्मीका कारण मनराशिसवा नगरपालिकामा विद्यालयहरू बन्द
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले असोज ७ देखि ११ गतेसम्म बिदा दिने निर्णय गर्दै सूचना जारी गरेका हुन ।
No Author Assigned | २०८१ असोज ७ गते २३:२६
महोत्तरी । असोज महिनामा पनि अत्यधिक गर्मी बढेपछि महोत्तरीको मनराशिसवा नगरपालिकाले सम्पूर्ण विद्यालयहरूमा बिदा दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले असोज ७ देखि ११ गतेसम्म बिदा दिने निर्णय गर्दै सूचना जारी गरेका हुन । उनले असोज ६ गतेको निर्णयअनुसार वर्षे बिदामा कटौती हुने गरी पालिकाका सबै सामुदायिक, संस्थागत, तथा धार्मिक विद्यालयहरूमा गर्मी बिदा दिएको बताए । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
मनराशिसवा नगरपालिकामा २३ सामुदायिक र ६ संस्थागत विद्यालयहरूमा करिब ८,००० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। महोत्तरीमा हालै केही दिनयता तापक्रम ३५ डिग्रीको हाराहारीमा पुगेको छ।
विद्यालयहरूको छाना प्रायः चदराको भएकोले गर्मीमा अत्यधिक तापक्रमले विद्यार्थीहरूलाई असहज बनाउने गरेको छ। जलेश्वर नगरपालिकाका ६२ वर्षीय जवार धोबीले असोज महिनामा यति धेरै गर्मी पहिला कहिल्यै नभएको बताउँदै यसले दैनिक कामकाजमा असहजता ल्याएको अनुभव व्यक्त गरे।
Facebook Comments