निलम्बित मेयरले बनाए राजविराज नगरपालिकालाई ‘बन्धक’, कार्यकर्ता उतारेर आक्रमण र तोडफोड

काठमाडौं । रंगशाला स्तरन्नोतिमा भ्रष्टाचार गरेको अभियोगमा सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादव निलम्बित छन् । तर भ्रष्टाचार मुद्दामा निलम्बित मेयरले पालिकाका गतिविधिमा हस्तक्षेत्र मात्र गरिरहेका छैनन्, पालिकालाई ‘बन्धक’ नै बनाउने प्रयास गरिरहेका छन् ।
राजविराज नगरपालिकामा भएको मंगलवारको घटनाले यसलाई थप स्पष्ट बनाउँछ । निलम्बित मेयर भीमराज यादवका समर्थकले आज पालिकाका भौतिक सम्पत्तिमा मात्र क्षति पुयाएनन्, कर्मचारीमाथि कुटपिट गरेर सख्त घाइते समेत बनाएका छन् । मेयर यादवको निर्देशनमा उनका कार्यकर्ताले कार्यालयमा काममा रहेकी कार्यवाहक मेयर इसरत परविनलगायत वडाका जनप्रतिनिधिहरुलाई कार्यालयभित्रै घण्टौंसम्म थुनिदिए ।
प्रहरी सुरक्षाका साथ कार्यालयभित्र रहेका जनप्रतिनिधिमाथि आक्रमण गर्न नपाएको झोंकमा निलम्बित मेयरका कार्यकर्ताले कर्मचारीमाथि कुटपिट गर्नुका साथै कार्यालयका सिसाहरु समेत तोडफोड गरेका छन् । निलम्बित मेयरका कार्यकर्ताले उपमेयर परविनको गाडीको सिसा, अन्य ५,७ वटा मोटरसाइकल समेत फुटाएका छन् । उता कार्यालयका कर्मचारीहरुबीच पनि कुटाकुट भएको छ । नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासलाई पालिकाकै योजना शाखाका अधिकृत मनोज यादवले कुटेको घटना हुँदा पालिकामै रहेका ६ नम्बर वडाका वडाध्यक्ष शशीकुमार चौधरीले जानकारी दिए । कुटपिटबाट घाइते दासको अवस्था सामान्य रहेको र उनको अहिले उपचार भइरहेको चौधरीले बताए ।
के हो विवाद ?
प्रमुख प्रशासकीय अधिकृत डा.श्रवण साहको सरुवा पछि पालिकाकै शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादव निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त भए । भोगेन्द्र यादव प्रमुख प्रशासकीय अधिकृत भएपछि विरोध गर्दै निलम्बित मेयर भीमराज यादवको निर्देशनमा उनका कार्यकर्ताले कार्यालयमा ताला लगाए । विगत तीन दिनदेखि कार्यालयमा ताला लागेपछि कार्यालयका सम्पूर्ण सेवा प्रवाह अवरुद्ध बनेको छ । कार्यालयको अवरोध हटाउन सोमवार प्रमुख जिल्ला अधिकारीसहित निलम्बित मेयर, उपमेयर परविन लगायत बसेर ६ घण्टासम्म वार्ता गर्दा समेत भीमराज यादव ताला खोल्न सहमत भएनन् ।
कुनै शर्त वा सम्झौतामा समेत ताला खोल्न नमानेपछि कार्यवाहक मेयर परविनले आज सिडियो कार्यलयको सहयोगमा प्रहरी सुरक्षासहित ताला फुटाएर भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गराउने क्रममा झडप भएको हो ।
अहिले घाइते कर्मचारीको उपचार भइरहेको र कार्यालयमा थुनिएका जनप्रतिनिधिहरु प्रहरीको सुरक्षामा बाहिर निस्किए । ६ नम्बर वडाका वडाध्यक्ष चौधरीका अनुसार जनप्रतिनिधिहरु सुरक्षा र समस्याको समाधान खोज्न अहिले जिल्ला प्रहरी कार्यालयसाथै जिल्ला प्रशासन कार्यालयको सहयोगमा सर्वदलीय बैठक बसिरहेका छन् । सकभर वार्ताबाट समस्या समाधान गर्ने तयारी रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।