किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान


झापा । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक\एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।
एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, ६ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
उनका अनुसार ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।
“यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उनले भने, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।” नगरले वितरण गरेको १२ हजार थान ‘सिड ट्रे’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।
प्रोत्साहन रकम
नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१\८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिए ।
तेलहन बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ३ हजार ९ सय सय ३५ कठ्ठामा तोरीखेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक\संस्थालाई प्रतिकठ्ठा ५ सयका दरले २० लाख उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए ।
त्यस्तै, आलु खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत यहाँका १ सय ४४ कृषक\संस्थालाई १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । ६ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा २ हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
यस्तै, रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक\संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको ७ सयका दर र ५९ वटा कृषक\संस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको ५ सयको दरले गरी ५ लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगर प्रमुख तरकारीखेती प्रबद्र्धन कार्यक्रम नजा अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए ।