Ad Image

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za pokhara nirmadhin.jpeg

कास्की । पोखरा महानगरपालिकामा विश्व बैंकको आर्थिक सहयोगमा तीन वटा प्रमुख सडकको स्तरोन्नति कार्य जारी छ ।

नेपाल सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत निर्माण भइरहेको सडकहरूमा तालचोक–बेगनास, शिशुवा–सिसाघाट, र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक पर्छन् ।

महानगर र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा सम्झौता भई अघि बढेको यस आयोजनाको अवधि हाल एक वर्ष थपिएको छ ।

शिशुवा–सिसाघाट सडकमा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । तालचोक–बेगनास सडकमा ५५ प्रतिशत र दोबिल्ला–बाघमारा सडकमा ४० प्रतिशत मात्र प्रगति देखिएको छ ।

इन्जिनियर नवीन गौतमका अनुसार निर्माण कम्पनीको ढिलाइ र जग्गा विवादका कारण समयमै काम सम्पन्न हुन सकेको छैन । तालचोक–बेगनास सडक ३.२८ किमि लम्बाइको चार लेन सडक हो, जसमा फुटपाथ, साइकल ट्र्याक, सडक बत्ती, पार्किङ र तीनवटा पुल रहनेछन् ।

स्वच्छन्द–सपना–वल्र्डवाइड जेबीले ७५ करोड ४८ लाख रुपैयाँमा तालचोक–बेगनास सडकको निर्माण जिम्मा लिएको हो । शिशुवा–सिसाघाट सडक (४.१४ किमि) आशीष निर्माण सेवाले ३४ करोड ११ लाख रुपैयाँमा निर्माण गर्दैछ ।

त्यस्तै, वैकल्पिक मार्गका रूपमा विकास भइरहेको दोबिल्ला–बाघमारा सडक (१२.४४ किमि) पनि आशीष निर्माण सेवाले ७७ करोड ६८ लाखमा बनाइरहेको छ ।

सडक दायाँबायाँ फलफूलका बिरुवा रोप्ने, यात्रु प्रतिक्षालय, बगैँचा निर्माण लगायतका पूर्वाधार निर्माण पनि भइरहेको छ । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले यस सडकले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने बताए ।

महानगरपालिकाले ग्रामीण तथा पछाडि पारिएका वडाहरूमा विकास प्राथमिकता दिने बताएको छ । सडकहरू पूरा भएपछि पोखराको आवागमन सहज, पर्यटन तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।