एक साताभित्र देशभर सक्रिय हुने मनसुन


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघिनै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको हो ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार हाल कोशी प्रदेश वरपर मनसुनी वायु सक्रिय रहेको र बिस्तारै अन्य प्रदेशहरूमा पनि फैलिँदै जाने संकेत देखिएको छ ।
उनका अनुसार अहिले हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी दिनमा पनि वर्षाको क्रम तीव्र हुँदै जानेछ ।
कँडेलले मनसुन विस्तारको प्रक्रिया सुरु भइसकेको र अब एक हप्ताभित्र देशभर सक्रिय हुने स्पष्ट संकेत देखिएको बताइन् । यस वर्ष वर्षासँगै अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी हुने अनुमान गरिएको छ ।