इरानी इन्टेलिजेन्स चिफ मा*रिए, सर्वोच्च नेता खामेनेईको ह*त्या गर्ने योजना ट्रम्पले रोकेको खुलासा

वासिङ्टन । इजरायलको हवाई आक्रमणमा परी इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मारिएका छन् । इरानको सरकारी मिडियाका अनुसार इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो ।
यसैबीच इजरायलले इरानको सर्वोच्च नेता आयतोल्ला अली खामेनेईलाई हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनेईलाई हत्या गर्ने इजरायलको योजनालाई अस्वीकार गरेको अमेरिकी अधिकारीहरूहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक अधिकारीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा ट्रम्पले खामेनेईलाई लक्षित गर्नु ‘राम्रो विचार होइन’ भनेर बताएका थिए। यद्यपि, ट्रम्पले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।
इजरायलले शुक्रबारदेखि इरानका आणविक संरचना र अन्य सैन्य निशानाहरूमा आक्रमण थालेको छ । दुवै देशबीचको आक्रमण लगातार जारी रहँदा दुवैतिर ठूलो धनजनको क्षति भएको छ । इरानको स्वास्थ्यमन्त्रालयका अनुसार शुक्रबादेखि इजरायली आक्रमणमा परी २२४ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी, इजरायलको हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायलीको ज्यान गएको छ भने २ सय बढी घाइते भएका छन् । इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना तथा मानव बस्ती भएको क्षेत्रमा नै प्रहार गरेपछि शनिबार इरानले ब्यालिस्टिक मिसाइलको प्रहार सुरु गरेको छ ।
दुवै देशको सेनाले सैन्य संरचनाको वरपरबाट आफ्नो स्थान छाड्न सर्वसाधारणहरूलाई भनेको छ। इजरायली सैन्य संरचनाको नजिक रहेका इजरायलीलाई त्यस स्थान छाडेर अन्यत्र सर्न इरानले भनेको छ । यसअघि इजरायलले पनि इरानका जनतालाई सैन्य संरचनाबाट टाढा बस्न भनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गरेका छन्।