युद्धका कारण हवाई उडान बन्द भएपछि इजरायलमै रोकिए विराटनगरका मेयर कोइराला


विराटनगर । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला युद्धका कारण उतै रोकिएका छन् । ७ दिन अघि इजरायल पुगेका मेयर कोइराला इरान र इजरायलबीचको युद्ध चर्किएपछि इजरायलमा फसेका हुन् ।
अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले कोइराला नेपाल फर्किन नपाएका हुन् । इजरायलमा विकास भएको खेती प्रणालीको अवलोकन गर्न उनी इजरायल गएका थिए । इजरायल सरकारको निम्तोमा उनी इजरायल गएको उनको सचिवालयले जनाएको छ ।
कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरानसँगको तनाव बढेपछि विमानस्थल बन्द छन् । विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।उनी इजरायलको राजधानी भन्दा ३० किलोमिटर पर सेफाइ भन्ने शहरमा रहेका छन् ।
केही दिनयता इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण चल्न थालेपछि उनीसहित त्यहाँ पुगेका विश्वका विभिन्न देशका जनप्रतिनिधिहरू बङ्करमा लुक्दै बस्न बाध्य भएका छन् । मेयर कोइरालाले आफू सेफाइ भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन् ।