Ad Image

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण गर्दै लहान नगरपालिका

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/health-check.jpg

सिरहा । सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतबार वडा नम्बर १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।

समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए । नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि वितरण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।

लहान नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र छन् । त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीलाई एक सातासम्म घरघरमा खटाएर ‘स्क्रिनिङ’ गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए । नगरपालिकाले गतवर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । त्यतिखेर चार हजार बढी स्थानीयले आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए ।