Ad Image

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Red panda.jpg

भोजपुर । भोजपुरमा लोपोन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) को संरक्षणका लागि व्यवस्थित अभियान थालिएको छ । टेम्केमैयुङ गाउँपालिका–१ सावास्थित भुरुखेक, महाभिर वाल्वानी, नयाँ खर्क, धप्परे एकराते र मैयुङ सामुदायिक वन क्षेत्रमा ४८ वटा क्यामेरा जडान गरी रेड पान्डाको अवस्था अनुगमन भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीका अनुसार रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति) का आठ हजार बिरुवा रोपिएको छ । साथै, अन्य वन्यजन्तुको संरक्षणका लागि तीनवटा ठूला पोखरी निर्माण गरिएको छ ।

गत आर्थिक वर्षमा पोखरी निर्माण, मालिङ्गो रोपण र श्रमदानसहित करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको संरचना निर्माण गरिएको थियो। रेड पान्डा संरक्षणसँगै पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्न पनि जोड दिइएको अधिकारीले बताए ।

सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठका अनुसार संरक्षण क्षेत्रमा रेड पान्डा फेला परेको पुष्टि भएको छ । चोरी–सिकारी रोक्न स्थानीय सचेतना अभिवृद्धि गर्दै सातवटा घुम्ती गस्ती समूह परिचालन गरिएको छ । दुई जना वन अभिभावकलाई पारिश्रमिकसहित नियुक्त गरिएको छ, जसले समय–समयमा अवस्था अद्यावधिक गर्नेछन् ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले रेड पान्डाको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेर दीर्घकालीन योजना बनाउने जानकारी दिइन् । अध्यक्ष सरोज बस्नेतका अनुसार संरक्षणलाई अझ प्रभावकारी बनाउन टेम्केमैयुङ गाउँपालिकाले रेड पान्डा पाइने क्षेत्रलाई “रेड पान्डा जोन“ को रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

रेड पान्डाको चोरी वा सिकार गर्नेलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एकदेखि दश वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।