इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ


काठमाडौं । आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ का १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ का ३७ वर्षीय सरेश गुरुङ छन् ।
दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जनाबाट ६ लाख रुपैयाँ लिएको र सरेशले अजरबैजान पठाउने बहानामा दुई जनाबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खटाएको टोलीले दर्शनलाई बुधबार काठमाडौं–७ बाट र सरेशलाई मंगलबार काठमाडौं–२६ बाट पक्राउ गरेको हो ।
दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।