पर्यटक लोभ्याउँदै लमजुङको भुजुङ गाउँ


गण्डकी । लमजुङको क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने भुजुङ गाउँ गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ । समुद्री सतहदेखि करिब १,६०० मिटरको उचाइमा अवस्थित यो गाउँ जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित छ । गाउँको उत्तरमा घना जंगल, घाँसे मैदान, खर्क र हिमालहरूको सुन्दर दृष्य छ जहाँ लमजुङ र अन्नपूर्ण हिमाल देख्न सकिन्छ ।
भुजुङमा ५०० घरधुरी रहेकोमा हाल ३३ घरमा घरबास पर्यटन सञ्चालन छ । २०६३ सालदेखि सुरु भएको यो पर्यटनमा दैनिक ५० देखि ६० पर्यटक आउने गरेका छन् । गाउँलेहरूले पर्यटकलाई आतिथ्यपूर्वक कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार, कोदो रक्सी र खसी–कुखुराको मासु ख्वाउँछन् ।
गाउँमा ९० प्रतिशत गुरुङ समुदाय बसोबास गर्छन् र यहाँको परम्परागत संस्कृति, भाषा र रीतिरिवाज जगेर्ना गरिएको छ । भुजुङमा रहेका प्राचीन गुम्बा, चिया बगान र सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा प्रवद्र्धन गर्ने योजना छ । विशेषगरी सन्तान प्राप्ति नहुने दम्पत्तिहरूले सन्तानेश्वर मन्दिरमा पूजा गरे सन्तान प्राप्त हुने विश्वास रहेको छ ।
२०७४ सालदेखि घरबास पर्यटन विस्तार हुँदै १५ घरबाट ३३ घरसम्म पुगेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको यस पर्यटनले स्थानीय आयआर्जनमा सकारात्मक योगदान पुर्याएको छ ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङका अनुसार, भुजुङलाई गुरुङ सम्पदा पदमार्गमा समेटेर पदयात्रा पर्यटनमार्फत स्थानीयको आयआर्जन बढाउने लक्ष्य राखिएको छ । पदमार्गमा कास्की, लमजुङ लगायतका गुरुङ गाउँहरूलाई जोड्दै प्राचीन नून बोक्ने मार्ग, भेडीगोठ र खर्कलाई समेटिनेछ ।
हालै नेपाल पर्यटन बोर्ड, ख्वोलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहकार्यमा भुजुङ, सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दूधपोखरीसम्म खोज तथा अन्वेषणात्मक पदयात्रा गरिएको छ ।
अव्यवस्थित बाटोले पदमार्गहरू नष्ट हुँदै गएकाले गुरुङ सम्पदा पदमार्ग विकासलाई पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रूपमा अघि बढाउन लागिएको छ भनी सङ्घकी अध्यक्ष किसमकुमारी गुरुङले बताइन् ।
भुजुङ गाउँले आफ्नो मौलिकता, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा जुटेका छन् ।