सीप मेलाका लागि काठमाडौं महानगरसँग सहकार्य गर्न इच्छुक छौँ : राजदूत लियान


काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियान जोन्स्टनले सीप मेलाका लागि काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छन् ।
आज मेलाको अवलोकन गर्दै उनले तेस्रो संस्करणमा विशेष क्षमता सहयोगी तालिम (स्पेशल एबिलिटी सपोर्ट स्किल) का क्षेत्रमा काम गर्न इच्छुक रहेको जानकारी दिइन् । महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेका तालिममा यस वर्ष नयाँ क्षेत्रका रूपमा विशेष क्षमता सहयोगी तालिम थप गरी सञ्चालन गरिरहेको छ ।
यसअन्तर्गत हाउसकिपिङ् र केयर सर्भिस गरी दुई पेशाका तालिम चलिरहेका छन् । हाउसकिपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाको सहजकर्ताका लागि हो ।
मेलाको अवलोकन गराउँदै कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले प्रशिक्षार्थीहरूको अपेक्षा बारे जानकारी गराउँदै भने, ‘रोजगारमा आवद्ध हुन चाहने, स्वरोजगारमा आवद्ध हुन चाहने, रोजगार तथा स्वरोजगारमा क्षमता बढाएर वृत्ति विकासमा सहयोग लिने र जीवनशैलीलाई सिपयुक्त बनाउने गरी चार प्रकारका सोचबाट प्रशिक्षार्थी तालिममा सहभागी हुनुभएको हामीले पाएका छौँ।’
मेलाको विशेषताका बारेमा प्रमुखका सचिवालय सल्लाहकार सन्तोष गिरीले प्रशिक्षण सञ्चालन, रोजगार र स्वरोजगारका लागि क्षेत्रगत सहकार्य नै मेलाको सवल पक्ष रहेको उल्लेख गरे । मेलामा परम्परागत सिपदेखि प्रविधिसम्मको प्रशिक्षणहरू सञ्चालन भइरहेका छन् ।
अवलोकनका क्रममा राजदूत जोन्स्टनले फेसन डिजाइनका प्रशिक्षार्थीहरूसँग ‘तपाईंहरू आपसमा मिलेर व्यवसाय सुरु गर्ने सम्भावना कस्तो छ?’ भनेर प्रश्न गरिन् । यसमा प्रशिक्षार्थीहरूले सम्भावना प्रबल रहेको प्रतिक्रिया दिए ।
यस्तै कृतिम कपाल बनाउने प्रशिक्षार्थीहरूलाई प्रोत्साहन दिँदै उनले भनिन्, ‘यो सिप विशिष्ट प्रकारको हो । एकातिर व्यवसाय चल्छ, अर्कोतिर क्यान्सरजस्ता दीर्घ रोग लागेर कपाल गुमाएका व्यक्तिहरूलाई आत्मसम्मान पनि दिन्छ । यसकारण यो सिप पेशा मात्र होइन, सेवा पनि हो।’