Ad Image

पोखरा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको चाप

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za chapp.jpeg

गण्डकी । पोखरा महानगरपालिका–८ नयाँबजारस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ । स्वास्थ्य बीमाका लागि ‘रिफर’ लिन आउने बिरामीको संख्याले सेवा दिन चुनौती थपिएको छ ।

केन्द्रका प्रमुख कुश्मराज सुवेदीका अनुसार, दैनिक २ सयभन्दा बढी सेवाग्राही आउने गर्छन् । कुपन लिन बिहान ७ बजेदेखि लाम लाग्ने र जनशक्तिको अभावले सेवा दिन कठिन भएको छ । तीन जना मेडिकल अधिकृतमात्रै कार्यरत केन्द्रमा आठ जनासम्मको आवश्यकता रहेको उनले बताए ।

भवन मर्मत, नयाँ संरचना निर्माण, सेवा गुणस्तर सुधारलगायत प्रयास भए पनि चाप अनुसारको व्यवस्थापन चुनौती बनेको छ । स्वास्थ्य महाशाखाअन्तर्गत २०७५ पुसमा स्थापना भएको केन्द्रमा हाल बहिरङ्ग, खोप, पोषण, सुरक्षित मातृत्व, सर्जरी, प्रयोगशालालगायत सेवा उपलब्ध छन् । 

हालै केन्द्रले प्रयोगशाला रिपोर्ट अनलाइन हेर्ने सुविधा सुरु गरेको छ। यद्यपि, दरबन्दीअनुसार चिकित्सक, जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराज पद अझै खाली छन् । बीमा तथा निःशुल्क स्वास्थ्य कार्यक्रमका कारण पनि सेवा लिनेको संख्या बढ्दै गएको छ ।