वडाध्यक्षहरूको दबाबले आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैंले गरेका केही निर्णयबाट पछि हटेका छन् । गत जेठ १ गते मेयर साहले सूचना प्रविधि, सुशासन तथा सम्पदा–पर्यटन समितिका संयोजकहरू परिवर्तन गरेका थिए ।
सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाई वडा–५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई, सुशासन समितिबाट ख्यामराज तिवारीलाई हटाई वडा–३० का अध्यक्ष दलबहादुर कार्कीलाई र सम्पदा तथा पर्यटन समितिबाट आशामान संगतलाई हटाई वडा–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी दिइएको थियो ।
तर नयाँ जिम्मेवारी लिने अनिच्छा र वडाध्यक्षहरूको कडा विरोधपछि मेयर साह पुरानै संयोजकहरूलाई पुनः जिम्मेवारी दिन सहमत भएका छन् । वडाध्यक्षहरू आशामान संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले कार्यपालिकाको निर्णय विना आफूखुसी निर्णय नगर्न चेतावनी दिएका थिए ।
नयाँ जिम्मेवारी पाएका अध्यक्षहरू प्रजापति, कार्की र राजभण्डारीले कार्यपालिकाको अनुमोदन नभएको भन्दै संयुक्त रूपमा पत्र पठाएर पद अस्वीकार गरेका थिए ।
यसैबीच, कार्यपालिका र नगरसभा सदस्यहरूको दबाब बढ्दै जाँदा उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनौपचारिक बैठकसमेत बस्ने क्रम बढेको छ । स्रोतका अनुसार निरन्तर दबाबपछि मेयर बालेन केही निर्णयहरूबाट पछि हट्न बाध्य भएका हुन् ।