संसदमा गृहमन्त्री लेखकले भने–अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको जानकारी गराउँदै उक्त समस्या दीर्घकालीन रुपमा समाधान हुने बताएका हुन् ।
सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । समितिको ९ वटा कार्यादेश रहेको समेत गृहमन्त्री लेखकले जानकारी दिए । समितिले तत्कालिन र दीर्घकालिन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्ने गृहमन्त्री लेखकको भनाइ छ ।