हजारौं दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा समापन

पर्सा । वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा आज यहाँ हर्षोल्लाससहित मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका मुख्यमुख्य चोक परिक्रममा गरेर फेरि मन्दिर प्राङ्गणमा आएर रथयात्रा समापन भएको हो ।
बाजागाजा, झाँकी, डिजेसहित रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएर घण्टाघर, रेल्वेरोड, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक हुँदै श्रीराम सिनेमाहल विर्तामाई दुर्गा मन्दिर, अलखिया मठमन्दिर, राणीसती, आदर्शनगर, महावीर मन्दिर हुँदै पुनःगहवामाई मन्दिरमा आएर रथयात्रा टुङ्गिएको हो ।
रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति थियो । जसमा महिला, बालबालिका र अन्य समूहका दशनार्थीको घुइँचो देखिन्थ्यो । रथयात्रा आषाढ शुक्ल पक्ष द्वितीया तिथीका दिन गर्ने गरिन्छ ।
समितिका अध्यक्ष श्यामकुमार पोखरेलले शुक्रबार भव्य कार्यक्रमबीच गहवामाईको तेस्रो रथयात्रा गरिएको जानकारी दिए। “विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौँ”, उनले भने, “यो वर्ष विगतको तुलनामा धेरै दशनार्थी सहभागिता भएको अनुमान गरेका छौँ ।” जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले गहवामाईको रथयात्रा शान्त र सौहार्दपूर्ण वातावरणमा भएको जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले गहवामाईको रथयात्रा समापन भए पनि अत्यधिक दशनार्थीको चाप भने विस्तारै घट्ने क्रममा रहेको जानकारी दिए।
“अत्यधिक दशनार्थी भएकाले ट्राफिक व्यवस्थापन सहज हुन केही समय लाग्ला”, उनले भने, “हामी विभिन्न ठाउँ–ठाउँमा खटिएर आवातजावतलाई व्यवस्थित गरिरहेका छौँ ।” समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउन विभिन्न नौ उपसमिति गठन गरेर व्यवस्थित गरेको जनाएको छ। धार्मिक समन्वय उपसमितिको संयोजक डा पुरुषोत्तम दुवेले यसपालीको रथयात्रामा करिब एक लाख दशनार्थी सहभागी भएको दाबी गरे।
“गहवामाई वीरगञ्जको प्रख्यात गहवामाई प्राचीन महत्वको धरोहर भएकाले पनि रथयात्रा गर्न लागिएको हो”, धार्मिक समन्वय उपसमिति संयोजक दुवेले भन्नुभयो, “भारतको जगन्नाथपुरीमा जस्तै गरी वीरगञ्जको गहवामाई मन्दिरको पनि रथयात्रा निकाल्ने परम्पराको विकास गरेका छौँ । यसले यहाँको पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत सहयोगी हुने अपेक्षा गरेका छौँ ।” उनका अनुसार यही असार १४ गते ५६ भोग र भण्डारा (प्रसाद) वितरण कार्यक्रम राखिएको छ ।
मधेस प्रदेशमा नै चर्चित रथयात्रा भएकाले रथयात्रामा साधुसन्त, महिलाको उल्लेखनीय सहभागिता जनाएका छन् । धार्मिक समन्वय समितिका संयोजक दुवेले धर्म, संस्कृति र संस्कार जोगाउन रथयात्रा गर्दै आइरहेको दाबी गरे । “हाम्रो धर्म, संस्कृति र आस्था जोगाउनलाई जोगाउन रथयात्रा गर्न लागिएको हो”, उनले भने, “धर्म, संस्कृति नयाँ पुस्ताका पिँढीलाई हस्तान्तरण गर्न आवश्यक भएकाले पनि गर्न लागेका हौँ ।”