निजी विद्यालय कम्पनी वा गुठीमार्फत सञ्चालन गर्न सक्ने व्यवस्था

काठमाडौं । निजी विद्यालय कम्पनी वा गुठीमार्फत सञ्चालन गर्न सक्ने व्यवस्था गरिने भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको शुक्रबारको छलफलमा निजी विद्यालयको विषय टुङ्गो लागेको हो ।
समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको छ। निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ ।
बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पारित गरेको छ ।बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राज्यले निजी विद्यालयलाई निषेध गरेर जाने स्थिति नरहेको बताएका छन् ।
उनले भने, ‘राज्यले निजीलाई निषेध गर्ने होइन । सार्वजनिक शिक्षा राम्रै भयो भने निजीबाट विद्यार्थी झिकेर ल्याउँछन् । राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन । उनीहरूको लोन, जग्गा जमिनको कुरा आउँछ । कानुनमा त्यही कुरा लेखौं, त्यो कार्यान्वयन हुन्छ । कानुनमा लेखेर राज्यको दायित्व पूरा हुँदैन । हाम्रो नियमन गर्ने कुरा अहिले उपसमितिले प्रस्ताव गरेको छ । त्यसलाई सरकारले एसेप्ट गरेको छ ।’
संविधानमा शिक्षा सेवामूलक बनाउने उल्लेख भएको शिक्षामन्त्री पन्तले स्मरण गराए । उनले भने, ‘शिक्षा क्षेत्र नाफा नखाई त आउँदैन । त्यहाँ नाफा धेरै नखाऔं भन्ने हो । कतिपय विद्यालयले करोडौं लोन लिएको छ । त्यो त राज्यले तिर्न सक्दैन ।’