माग पूरा नभएपछि पुनः सडक आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौं । सरकारले बजेट संशोधन गर्ने आश्वासनमा रहेका सुनचाँदी व्यवसायी माग पूरा नभएसँगै पुनः सडक आन्दोलनमा उत्रिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ बिहीवार पुनः सडक आन्दोलनमा उत्रिएको हो ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गरिनुपर्ने उनीहरुको माग छ ।
गत जेठ २० गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका सुनचाँदी व्यवसायीले सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै असार ५ गतेदेखि आन्दोलन स्थगित गरेका थिए ।
बुधवार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारमा पारदर्शिता कायम गर्न विलासिता कर लगाउनु परेको बताएका थिए ।
सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमामात्रै हटाइएको उनले बताए । अर्थमन्त्रीको उक्त जवाफबाट असन्तुष्ट व्यवसायीहरूले आजदेखि पुन आन्दोलन सुरु गरेका छन् ।
विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने गरेको थियो । अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ ।