Ad Image

केही पदाधिकारीले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई सोधिएको छैन: झाँक्री

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramkumari.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई पार्टीले स्पष्टीकरण सोधेको हल्ला निराधार भएको बताएकी छन् । 

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोधे पनि पार्टीले आफूलाई स्पष्टीकरण नसोधेको बताएकी हुन् । 

उनले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको बताएकी छन् ।

‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो ।’ उनले भनिन्, ‘त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

गत शनिवार झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएको भन्दै पार्टी पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ 

झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए ।