Ad Image

हेटौंडामा निर्माण व्यवसायी महिलाद्वारा वडाध्यक्ष सिग्देलमाथि कुटपिट

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jhagada.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– ४ का वडाअध्यक्ष नवीन सिग्देलमाथि आज एक महिला निर्माण व्यवसायीले हातपात गरेकी छन् । हेटौंडा क्याम्पस अगाडि ढल निर्माण निर्माण स्थलबाट निस्किएको माटोलाई ४ नम्बर वडाकै श्रमिक माविको परिसरमा भएको खाडल पुर्न प्रयोग गर्न अध्यक्ष सिग्देलले आग्रह गर्दा निर्माण व्यवसायी मञ्जु लामाले माटो अन्यत्रै लैजाने बताएपछि आज बिहान विवाद भएको र सोही क्रममा लामाले कुटपिट गरेको उपमहानगरले जनाएको छ ।  

प्रहरीका अनुसार वडाध्यक्षमाथि कुटपिट गर्ने निर्माण व्यवसायी लामा काभ्रेको रोशी गाउँपालिका–११ की बासिन्दा हुन् । उनलाई घटना लगत्तै पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।  लामाविरुद्ध वडाध्यक्ष सिग्देलले जाहेरी दिएका छन् ।  

यसअघि असार ४ गते हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेमाथि पनि हातपात भएको थियो । न्यौपानेमाथि आक्रामण भएको १५ दिन नबित्दै हेटौंडा क्याम्पसदेखि हुप्रचौरतर्फ निस्कने सडक विस्तारको अनुगमनमा पुगेका वडाध्यक्ष सिग्देललाई निर्माण व्यवसायी लामाले हातपात गरेको उपमहानगरले जनाएको छ । 

घटनापछि उपमहानगरले एक विज्ञप्ति जारी गरी जनप्रतिनिधिमाथि बारम्बार आक्रमण भएको भन्दै यथाशीघ्र दोषीमाथि हदैसम्मको कानूनी कारवाही गरी वडा कार्यालयहरूमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सबै पक्षसँग आग्रह गरेको छ ।