एक वर्षमै साढे ४ लाखको सिप्लिकान बिरुवा बिक्री


तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ स्थित कृषि फार्मका सञ्चालक कविराज खनालले एक वर्षमै रु ४ लाख ५० हजार बराबरको सिप्लिकान बिरुवा बिक्री गरेका छन् ।
पाँच वर्षदेखि व्यावसायिक रूपमा सिप्लिकान खेती गर्दै आएका खनालले यस वर्ष मात्र १० हजार बिरुवा उत्पादन गरे पनि माग अनुसार उत्पादन गर्न नसकिएको बताए ।
उपत्यकासहित पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त सिप्लिकान उच्च रक्तचाप, सुगर, जन्डिस, मिर्गौला रोगका लागि औषधीय रूपमा उपयोगी मानिन्छ । खनालले यसको संरक्षण र प्रचारका लागि राज्यको साथ आवश्यक रहेको बताए ।
फार्ममा कुरिलो खेती समेत हुँदै आएको छ, जसको वार्षिक बिरुवा बिक्री २० देखि २५ हजार पुग्ने खनालले बताए । कुरिलोको टुसा पोषिलो तरकारीका रूपमा लोकप्रिय छ ।
पत्रकारिता र शिक्षणसँगै कृषिमा समेत सक्रिय खनालको फार्म अहिले कृषिप्रशिक्षणको ‘जीवन्त पाठशाला’ बन्दै गएको छ ।