दाइलाई उपाध्यक्ष बनाएपछि जनमत पार्टीमा विवाद

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्ना दाइ डा. जयकान्त राउतलाई उपाध्यक्षमा मनोनीत गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । राउतले जयकान्त र दानबहादुर चौधरीलाई राष्ट्रिय उपाध्यक्षमा मनोनीत गरेपछि परिवारवाद हाबी भएको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ ।
पार्टीका उपाध्यक्ष दीपक साहले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष राउतमाथि पारिवारिक प्राथमिकता दिँदै संस्थागत राजनीतिमा क्षति पुर्याएको आरोप लगाए । उनले राउतले विगतमा पत्नीलाई पनि उपसभामुख बनाएको उदाहरण दिँदै नेतृत्वमा योगदानभन्दा नातालाई प्राथमिकता दिएको गुनासो गरे ।
प्रवक्ता डा. शरद यादवले भने डा. जयकान्तको योगदान महत्त्वपूर्ण रहेको भन्दै आलोचना नबुझेको आरोप लगाए । “उहाँको भूमिकाले सिके राउतलाई मूलधारमा ल्याउन सहयोग गरेको हो,“ उनले भने ।
विवादकै बीच अध्यक्ष राउतले दीपक साहसहित अन्य नेताहरूलाई निलम्बन गरेका छन् । साहलाई ६ महिनासम्म कुनै जिम्मेवारी नदिनेसमेत निर्णय गरिएको छ ।