Ad Image

यातायात क्षेत्र सुधार सरकारको प्राथमिकतामा छ : मन्त्री दाहाल

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/908aed9d-806b-4330-b529-5e252f6aacf4.jpeg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार चन्द्रागिरि नगरपालिका–७ मा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्माण गरिएको भवन उद्घाटन गर्दै मन्त्री दाहालले यातायात क्षेत्र सुधारका लागि नीतिगत रूपमै काम भइरहेको बताए ।

“सरकारले नीतिगत सुधार मात्रै होइन, कार्यान्वयनमै विशेष ध्यान दिइरहेको छ,“ उनले भने, “विभिन्न कानुन संशोधनको प्रक्रियालाई मन्त्रालयले प्राथमिकतामा राखेको छ।“

मन्त्री दाहालले सवारीसाधनलाई सडक र पुलहरूको भारबहन क्षमताअनुसार मात्रै सञ्चालन गर्न कडाइका साथ व्यवस्था लागू गरिने चेतावनीसमेत दिए ।

“नेपालका सडक र संरचनामा बढी भार भएका मालबाहक सवारीसाधनका कारण ठूलो क्षति पुगेको छ,“ उनले भने, “सीमा क्षेत्रदेखि नै नियन्त्रण गर्ने उपाय अपनाइनेछ।“

उनले सडक तथा पुल जोगाउन सबैको दायित्व रहेको उल्लेख गर्दै, भूगोलअनुसार निर्माण गरिएका संरचनामा मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा दीर्घकालीन असर पर्ने चेतावनी दिए ।