Ad Image

थाहाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचारः कर्मचारीहरूमाथि मुद्दा, जोगिए मेयर !

User Image अम्बिका खड्का | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/thaha.jpg

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामा करोडौं रुपैयाँ अनियमितता भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ । अख्तियारको निष्कर्षअनुसार कर्मचारीहरुले अक्सिजन प्लान्ट खरिदका लागि आपूर्तिकर्ता कम्पनीसँग सेटिङ गरेर बढी मूल्यमा कम गुणस्तरको सामान खरिद गरेका छन् । 

यो अभियोगमा थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जना कर्मचारी तथा आपूर्तिकर्ता कम्पनी र त्यसका प्रोप्राइटरविरुद्ध विशेष अदालतमा मुद्दासमेत दायर भइसकेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरी, तत्कालीन लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा, सहायक पाँचौ तहका कर्मचारी सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, तथा आपूर्तिकर्ता सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि र उक्त प्रा.लि.का अध्यक्ष/प्रोप्राइटर सोबित प्रसाईविरुद्ध अख्तियारले बिगो दाबीसहित भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार अक्सिजन प्लान्ट खरिद प्रकरणसँग जोडिएका कर्मचारीसँग १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसा बिगो दाबी गरिएको छ । 

कर्मचारी र ठेकेदारबीच यसरी भएको थियो ‘सेटिङ’

थाहा नगरपालिकालाई अक्सिजन प्लान्ट खरिदका लागि प्रदेश सरकारले ५५ लाख र सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १ करोड उपलब्ध गराएको थियो । बजेट प्राप्त भएसँगै नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २०७९ साल वैशाख १२ गते ठेक्का आब्ह्वान गर्यो । 

बोलपत्रदाताहरुको आर्थिक तथा प्राविधिक प्रस्तावमाथि मूल्याङ्कन गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरीको संयोजकत्वमा खरिद मूल्यांकन समिति गठन गरिएको थियो । समितिमा प्रशासकीय अधिकृत पुरीसहित नगरपालिकाकै कर्मचारीहरु तत्कालीन लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ तहका कर्मचारी सुदर्शन पहेली संलग्न थिए । प्राविधिक मूल्यांकनका लागि नगरपालिकामा दक्ष जनशक्ति नभएका कारण समितिले बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीबाट अक्सिजन प्लान्टको स्पेसिफिकेशन तयार गराएको थियो । उक्त स्पेसिफिकेशन अनुसार नै ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ खरिदका लागि बोलपत्र आब्ह्वान गरियो । 

नगरपालिकाले ठेक्का आब्ह्वान गरेपछि अक्सिजन प्लान्ट खरिदका लागि ८ वटा कम्पनीको आवेदन पर्यो । ८ मध्ये २ वटा आवेदनमा ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ खरिदका लागि प्रस्ताव गरिएको थियो भने बाँकी ६ वटा ‘रेफ्रिजरेटेड एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गर्ने फर्महरू थिए । स्पेसिफिकेशनअनुसार प्राविधिक रुपमा हेर्ने हो भने सिधै ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गर्ने २ वटा फर्मलाई मात्र प्राविधिक मूल्यांकनका लागि छनोट गर्नुपर्ने हो । 

त्यसैगरी ८ वटा प्रस्तावमध्ये आर्थिक प्रस्तावमा मुनरक इन्टरनेशनल प्रालिले ९७ लाख १८ हजार, हेल्थकेयर सप्लायर्सले १ करोड ७ लाख ८४ हजार, शुभारम्भ सर्भिस ट्रेडर्स प्रालिले १ करोड १० लाख १ हजार १९९.७५ र अन्य बोलपत्रदाताहरुले यसभन्दा बढी अंक (रकम) कबोल गरेका थिए । त्यसैले आर्थिक मूल्यांकनतर्फ हेर्ने हो भने न्यून रकम कबोल गर्ने मुनरक इन्टरनेशन प्रालिलाई छनोट गरिनुपर्ने थियो । 

तर सबैभन्दा कम आर्थिक प्रस्ताव गर्ने मुनरक र हेल्थकेयर सप्लायर्सलाई खरिद मूल्यांकन समितिले आर्थिक प्रस्ताव कम भएपनि प्राविधिक प्रस्ताव स्पेसिफिकेशन बमोजिम नभएको भन्दै अस्वीकृत गर्यो । प्राविधिक रुपमा अन्य फर्महरु स्वीकृत भए जबकी ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गर्ने दुई वटा मात्र फर्म थिए । खरिद मूल्यांकन समिति जसरी पनि शुभारम्भ सर्भिसलाई ठेक्का मिलाउने पक्षमा देखियो । शुभारम्भले प्राविधिक रुपमा स्पेसिफिकेशनमा उल्लेख भएको ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ भन्दा फरक ‘रेफ्रिजरेटेड एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गरेको थियो । जसका कारण समितिले ‘रेफ्रिजरेटेड एयर ड्रायर टेक्नोलोजी’ प्रस्ताव गर्ने अन्य फर्मलाई पनि प्राविधिक रुपम छनोट गर्यो । सबैभन्दा कम रकम कबोल गर्ने दुई कम्पनीलाई प्राविधिक स्पेसिफिकेशन पूरा नभएको भन्दै अस्वीकृत गरिसकेपछि प्राविधिक रुपमा स्वीकृत भएको र सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी शुभारम्भ सर्भिस भयो र ‘सेटिङ’ अनुसार खदिर मूल्यांकन समिति शुभारम्भ सर्भिस ट्रेडर्स प्रालिको बोलपत्र स्वीकृत गर्न सफल भयो । यसरी कर्मचारी र आपूर्तिकर्ता कम्पनीबीचको सेटिङमा छनोट भएको कम्पनी शुभारम्भ सर्भिससँग २०७९ असार ७ गते नगरपालिकाले १ करोड १० लाख १ हजार १९९.७५ मा अक्सिजन प्लान्ट खरिद गर्नेगरी सम्झौता गर्यो ।

सेटिङमा सफल, भ्रष्टाचारको रकम हात पार्न असफल

निश्चित कम्पनीलाई ठेक्का दिलाउन कम रकम कबोल गर्ने कम्पनीलाई प्राविधिक स्पेसिफिकेशन नपुगेको भनेर अस्वीकृत गरिनु र स्पेसिफिकेशनमै नभएको प्रस्ताव गर्ने कम्पनीलाई समेत प्राविधिक रुपमा छनोट गरिनुले ठेक्का प्रक्रियामा सेटिङ भएको स्पष्ट थियो । शुभारम्भ सर्भिस प्रालिको बोलपत्र स्वीकृत भएको सूचना पकाशन भएसँगै ठेक्का प्रक्रियामाथि प्रश्न उठ्न थाल्यो । असार ७ गते नगरपालिकाले एक राष्ट्रिय पत्रिकामर्फत शुभारम्भ सर्भिसको ठेक्का स्वीकृत गरेको आशयको सूचना प्रकाशित गर्यो । असार १२ गते नै सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी मुनरक इन्टरनेशनल प्रालिले थाहा नगरपालिकालाई ठेक्का प्रक्रिया तत्काल रोकेर पुनः मूल्यांकन गर्न पत्राचार गर्यो । मुनरकले थाहा नगरपालिकालाई लेखेको पत्रमा ठेक्का प्रक्रियामा बदनियत र खोट भएको आरोप समेत लगाएको थियो । गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी गरिएको टेण्डर छनौट नसच्याए कानुनी उपचारमा जाने मुनरक इन्टरनेशन प्रालिले चेतावनी समेत दिएको थियो । मुनरकको पत्राचारपछि नगरपालिकाले असारको १६ गते नै कम आर्थिक रकम कबोल गरेपनि स्पेसिफिकेशन अनुसारको प्राविधिक छनोटमा नपरेको भन्दै मुनरकको पत्राचारको जवाफ दिएको थियो । 

मुनरक इन्टरनेशनले भने ठेक्का प्रक्रियामा राजनीतिकरण भएकाले त्यसबेला आफूहरु थप झमेलामा पर्न नचाहेको जनाएको छ । कम रकम कबोल गर्दा समेत छनोटमा नपरेपछि आपत्ति जनाएको मुनरकले भन्यो, ‘अख्तियारले मुद्दा हालेको हामीले पनि समाचार मार्फत खबर पायौं । त्यही बेला ठेक्का प्रक्रियामा धेरै राजनीतिकरण भएको बुझेका थियौं । पुनः मूल्यांकन गर्नका लागि पत्राचार पनि गर्यौं । नगरपालिकाको जवाफ त चित्त बुझेको थिएन । तर धेरै झमेलामा पर्न नचाहेर हामीले वास्ता नै गरेनौं ।’

त्यसबेला अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा समाचार समेत आएका थिए । थाहा नगरपालिकाले सञ्चार माध्यममा आएका समाचारमाथि आपत्ति जनाउँदै असार १६ गते अनियमितता नभएको स्पष्टीकरण समेत दिएको थियो । जताततै आशंकाका बाबजुद नगरपालिकाले २०७९ असार २१ गते शुभारम्भ सर्भिस प्रालिसँग अक्सिजन प्लान्ट खरिदका लागि सम्झौता गर्यो । सम्झौतापछि नगरपालिकाले बाँकी रकम सामान आएपछि उपलब्ध गराउने गरी शुभारम्भ सर्भिसलाई १२ लाख रकम पेश्की समेत प्रदान गर्यो । सम्झौताको करिब ८–९ महिनापछि नगरपालिकामा अक्सिजन प्लान्ट आयो । अक्सिजन प्लान्ट बोलपत्रमा आह्वान गरिएको ‘डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी’ नभएर ‘रेफ्रिजरेटेड एयर ड्रायर टेक्नोलोजी’ थियो । माग भएकोभन्दा फरक प्रविधिको, कम गुणस्तरको र कम मूल्यको सामान आएपछि अख्तियारमा उजुरी पर्यो । अख्तियारमा उजुरी परेपछि १२ लाखबाहेकको भूक्तानी आपूर्तिकर्ता कम्पनीले पाएन । 

शुभारम्भ सर्भिसलाई ठेक्का पार्नका लागि ‘सेटिङ मिलाउन’ सफल भएका पालिकाका कर्मचारीले अख्तियारमा उजुरी परेपछि भुक्तानी दिन नपाउँदा भ्रष्टाचारको रकम हात पार्न भने असफल भएका छन् ।

पालिकाका कर्मचारीको बचाउमा मेयर, दोष जति प्रदेशका प्राविधिकमाथि

अक्सिजन प्लान्ट खरिदका लागि ठेक्का आब्ह्वान स्थानीय तहको दोस्रो निर्वाचनभन्दा केही दिनअघि मात्र भएको थियो । अर्थात २०७९ साल वैशाख १२ गते ठेक्का आब्ह्वान भएको थियो । यो बीचमा स्थानीय तहको निर्वाचन भयो । पहिलाका मेयरको कार्यकाल सकियो र नयाँ मेयरले पालिकाको जिम्मेवारी सम्हाले । यसको अर्थ पालिकाको अक्सिजन प्लान्ट खरिद प्रक्रियाको ठेक्का आब्ह्वान बाहेकका सम्पूर्ण प्रक्रिया हालका मेयर विष्णुबहादुर विष्टकै कार्यकालमा भयो । खरिद मूल्यांकन समितिमा नभएपनि सम्पूर्ण खरिद प्रक्रियाको साक्षी रहेका मेयर विष्ट भ्रष्टाचारको अभियोग लागेका तत्कालीन कर्मचारीहरुको बचाउ गर्दै दोष जति बायोमेडिकल इन्जिनियरतर्फ तेर्साउँछन् । पालिकाका कर्मचारीहरुलाई प्राविधिक विषयमा ज्ञान नहुने भएकाले यो प्रकरणमा बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालयबाट बोलाइएका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको गल्ती भएको मेयर विष्टको दाबी छ । 

‘प्राविधिक विषयमा ज्ञान नभएकाले मूल्यांकनका लागि बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालयबाट बायोमेडिकल इन्जिनियर बोलाइएको हो । इन्जिनियर आफैंले इस्पेसिफिकेशन तयार गरे र सामान आएपछि उनैले रुजु गरेका हुन्’, मेयर विष्ट भन्छन्, ‘इन्जिनियरले सामान फरक आयो भनेको भए हामी तत्कालै फिर्ता गर्ने थियौं । अर्को सामान मगाउँथ्यौं वा अर्को प्रक्रिया सुरु गर्ने थियौं । नगरपालिकामा यस विषयमा कोही विज्ञ भएको भए प्रदेशबाट इन्जिनियर बोलाउनै पर्ने थिएन् ।’

मेयर विष्टले प्राविधिक ज्ञान नभएका कारण इन्जिनियरको कुरालाई सही मान्दा गलत हुन पुगेको भन्दै पालिकाका कर्मचारी यसमा संलग्न नभएको जिद्दी गरे ।

मेयरले जस्तोसुकै तर्क गरे पनि पालिकाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको अभियोग लागिसकेको छ । मुद्दा समेत दायर भएको यो प्रकरणमा स्थानीय सरकारकाे काममा प्रश्न उठिसकेको छ । घटनाबारे निश्पक्ष छानबिन गर्न दबाब दिनुको सट्टा मेयर नै पालिकाका तत्कालीन कर्मचारीको बचाउमा उत्रिनुले यो प्रकरणमा उनीमाथि पनि अनुसन्धान आवश्यक हो कि भन्ने आशंका समेत उब्जाएको छ ।