प्रधानमन्त्रीविरुद्ध खनिए प्रभु साह, सभामुखबाट रुलिङको माग


काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिँदै संसदमा सभामुखबाट रुलिङको माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर ‘झुटको खेती’ गर्नु र समाजलाई विनाशतिर धकेल्नु स्वीकार्य नभएको बताए । उनले प्रधानमन्त्रीले राम नेपालमा जन्मेको भन्ने अभिव्यक्ति प्रति आपत्ति जनाउँदै रामायणलाई क्षेत्री बाहुनको पुरानो कथा भनेका छन् ।
उनले प्रश्न गरे, “नेपालको भूभागका असली वारिस आदिवासी जनजाति हुन् कि क्षेत्री बाहुन? के चितवनका आदिवासी थारु होइनन्? के चतराका आदिवासी किराती होइनन्?“ साहले राजनीतिक स्टन्टका लागि झुटको खेती नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै इतिहासको वास्तविकतालाई स्वीकार गरी आदिवासी जनजातिको अस्तित्वमाथि छेडछाड नगर्न चेतावनी दिए ।
उनले प्रधानमन्त्रीलाई किरातीहरूको इतिहास खोतल्न सुझाव दिँदै यदि राम जन्मको कुरा सत्य हो भन्ने लाग्छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न आग्रह गरे । साहले प्रधानमन्त्रीको तहबाट गलत सूचना फैलाउँदा समाज अन्धकार र द्वन्द्वमा धकेलिने बताए ।
Facebook Comments