धवलागिरि गाउँपालिकाको घुम्ती शिविर, ६ सय जना लाभान्वित


म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दाबढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहर झरेका थिए । घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिए ।
सोमबार र मङ्गलबार बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौँ, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो । १ देखि ७ नम्बर वडाका त्रमश : ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताए ।
धवलागिरि म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । ज्येष्ठ नागरिक, अशक्त र अससायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।
गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारीनै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको बेनीमा बस्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लमसुङका दिलीप शेरचनले बताए ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि सात वटै वडाका अध्यक्ष र सचिवले सहरमा पुगेर सेवा दिएका बताए । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार नौ सय ३८ जनालाई रु १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाइसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।
Facebook Comments