कञ्चनपुरको सिंहपुर सामुदायिक वनमा पाहुना घर निर्माण

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG20250810103821.jpg

कञ्चनपुर । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण कार्य अघि बढाएको छ । नगरपालिका र सामुदायिक वनको संयुक्त लगानीमा निर्माण भइरहेको यो पाहुना घर अन्तिम चरणमा पुगेको छ ।

वनका अध्यक्ष जोगराज चौधरीका अनुसार, स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ, जसका लागि नगरपालिकाबाट ३ लाख र वनबाट ७ लाखभन्दा बढी खर्च गरिएको छ । यो पाहुना घर दुई महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

पाहुना घर सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकलाई थारु, राना थारु र पहाडी समुदायका अर्गानिक खानाका परिकार र परम्परागत संस्कृतिबारे जानकारी दिइने योजना छ । यसका साथै, वनभित्रको भ्यू टावर, पिकनिक स्थल र पोखरीमा डुङ्गा सयरजस्ता सुविधा पनि उपलब्ध गराइनेछ ।

त्यसैगरी, सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना पनि रहेको अध्यक्ष चौधरीले बताए । चालु आर्थिक वर्षभित्रै होमस्टे दर्ता गरी सञ्चालनको तयारी गरिएको छ । यसले स्थानीयको आयआर्जन बढ्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।


Facebook Comments