घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख आचार्यविरुद्ध मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख र एक कर्मचारीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चाँगुनारायण नगरपालिकाको १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टा गरी मोहीको नाममा पुर्जा बनाउने कामका लागि घुस मागिएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा अख्तियारको टोलीले मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट घुसबापत लिइएको २४ लाख ५० हजार रुपैयाँ नगद र मोबाइलसमेत बरामद भएको थियो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, राउतले उक्त रकम लिएको र त्यो कार्य आचार्यको योजनामा भएको अनुसन्धानबाट पुष्टि भएको छ । दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद र बिगो बराबर जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ ।
Facebook Comments