प्रेस स्वतन्त्रताको पक्षमा छु, तर मर्यादा नाघ्नु हुँदैन : प्रधानन्यायाधीश राउत


काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूको सहज पहुँचका लागि अदालतको इजलासमा छुट्टै स्थानको व्यवस्था गर्ने बताएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अदालतबारे सूचना प्रवाहलाई सहज बनाउन आफू गम्भीर रहेको बताएका हुन् ।
राउतले पत्रकारहरूको गुनासोलाई सम्बोधन गर्दै भने, ‘इजलासमै पनि बाहिर छुट्टै स्थान बनाउने व्यवस्था गर्न सकिन्छ भने त्यो पनि गर्छौं ।’
उनले अदालतको मर्यादा कायम राख्न आफू प्रतिबद्ध रहेको र यसमा प्रेस स्वतन्त्रताको सम्मान गर्ने कुरामा न्यायिक नेतृत्व सचेत रहेको पनि बताए ।
यद्यपि, उनले प्रेस स्वतन्त्रताको पक्षमा रहे पनि गलत र असत्य समाचार सम्प्रेषण गरेर अदालतको गरिमामा आँच आउने काम नगर्न सञ्चारकर्मीहरूलाई चेतावनी दिए ।
उनले अदालतप्रति मानिसको भरोसा डगमगाएको भए लाखौँ मुद्दा दर्ता नहुने भन्दै न्यायालयलाई विश्वासको केन्द्र बनाउन आफूहरू लागिपरेको स्पष्ट पारे ।
Facebook Comments