बझाङको ऐतिहासिक देबलबाँझ मन्दिर संरक्षणको पर्खाइमा

काठमाडौं । बझाङको सबैभन्दा ठुलो देवल मन्दिर थलारा गाउँपालिका–३ मा रहेको देबलबाँझ मन्दिर हो । यो मन्दिर चारैतिरबाट बस्तीले घेरिएको छ । आजभन्दा सयौँ वर्ष पहिला निर्माण गरिएको यो मन्दिर दिनानुदिन जीर्ण बन्दै गएपछि गाउँपालिकाले यस शक्ति पीठको जीर्णोद्धारमा चासो देखाएको छ ।
यो मन्दिर कसले र कसको पालामा निर्माण भएको हो भन्ने यकिन जानकारी यहाँका नागरिकलाई समेत छैन । ढुङ्गै ढुङ्गाले मात्रै निर्माण गरिएको यस मन्दिरमा ७ वटा देवल छन् । चारतर्फबाट खुल्ला रहेको यस देवल मन्दिरलाई कसैले जुम्ली राजा जलन्धरको पालामा निर्माण भएको भन्दै आएका छन्, भने कसैले कौरव र पाण्डवहरूको पालामा देवल मन्दिर निर्माण भएको भन्ने गरेका छन् ।
जुम्ली राजा जलन्धरले घुम्दै आउँदा यस ठाउँमा बास बसेका र एकै रातमा यो मन्दिर तयार पारेको यहाँका बुढापाकाहरूको भनाइ छ । उक्त कुरा आफूहरूले आफ्ना बुढापाकाहरूबाट अर्ती उपदेश पाएको उनीहरू बताउँछन् । तर कतिपयले भने पाँच भाइ पाण्डव र सय भाइ कौरवबिचको द्वन्द्वको समयमा पाण्डवहरूले यस मन्दिरको निर्माण गरेको बताउँछन् ।
यसै मन्दिरको नामबाटै देवल बाँझ गाउँको नामसमेत नामाकरण गरिएको छ । उपाध्याय, पाध्याय, विक, सार्की, पार्की, खत्री जातिको बसोबास रहेको यस बस्तीको नामाकरण देवल भएकै कारण देबलबाँझ राखिएको हो । यस गाउँमा पहिलो पटक बाहुनको बसोबास भएको यहाँका बुढापाकाहरूको भनाइ छ ।
मुख्यतया वर्षमा २ पटक चैत्र महिना र महाअष्टमीका दिन देवल मन्दिरमा ठुलो मेला लाग्ने गरेको छ । उक्त मेलाकै दिन देवलको पूजा अर्चना गर्ने परम्परा रही आएको देबलबाँझ मन्दिरका भँडारे भक्तराज उपाध्यायले बताए । मन्दिरमा पूजा अर्चना गर्नका लागि बझाङ जिल्लाबाट मात्रै नभएर छिमेकी जिल्ला बाजुराबाट समेत तीर्थालु भक्तजनहरू यहाँ पुग्ने गर्दछन् ।
उपाध्यायका अनुसार, यो मन्दिर आजभन्दा ६ सय ७५ वर्षअघि निर्माण भएको हो । वि.स. १४०७ सालमा यस मन्दिरको निर्माण भएको भन्ने अर्ती आफ्ना बाजे, बज्यैबाट पाएको उनी बताउँछन् । यसको यकिन दस्ताबेज भने कतै पाइँदैन । मन्दिर निर्माण पश्चात् वि.स. १९८५ जेठ १२ गते दिउँसो ११ बजे दैपाण (मन्दिरको पूजा अर्चना गर्नका लागि निर्माण गरिएको मन्दिरमा महत्त्वपूर्ण सामग्री राख्ने ठाउँ) वा भण्डारमा आगलागी भएको थियो । कतिपय महत्त्वपूर्ण कागजात त्यति बेला नष्ट भएका हुन सक्ने अनुमान उनीहरूको छ । त्यसपछि वि.स. १९९० मा भूकम्प आउँदा पनि क्षति देवलमा र पुनर्निर्माण गरिएको दैपाणमा समेत क्षति भएको थियो । कतिपय महत्त्वपूर्ण पूजा गर्ने सामग्री त्यति बेला नष्ट भएको हुन सक्ने उनको अनुमान छ ।
उपाध्यायका अनुसार एक पटक यो मन्दिरमा योगी नरहरिनाथ आएर यस मन्दिरमा भएका केही महत्त्वपूर्ण कागजातसमेत लिएर गएका कारण मन्दिर कहिले र कसको पालामा निर्माण भएको हो सो कुराको कुनै पनि दस्ताबेज छैन ।
यस देवलमा गणेश, विष्णु, लक्ष्मी, शिव, पार्वती, दत्तात्रय, भगवती, कालिका, सूर्य भगवान् लगायतका भगवानको छुट्टाछुट्टै पूजा अर्चना हुने गर्छ । चोखो मनले व्रत बसेर भाकल गर्दा सोचेको मनकामना पूरा हुने, सन्तान नहुनेको सन्तान हुने, घरमा फलिफाप हुने आदि विश्वास अहिले पनि रहिआएको छ । यस मन्दिरभित्र विभिन्न विष्णु, लक्ष्मी, गणेश, पार्वती, भगवती, सूर्य, कालिका, दत्तात्रयलगायतका भगवानका समेत मूर्ति रहेका छन् ।
स्थानीय समाजसेवी तथा थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याका अनुसार देवलमा थुप्रै कुरा रहेको भए पनि केही आगलागीका कारण, केही भूकम्प र केही सशस्त्र द्वन्द्व कालको समयमा महत्त्वपूर्ण मूर्ति हराएको हो । ‘अहिले एउटा शिलालेखसम्म पनि छैन। मन्दिरभित्र के के थियो। अहिले के के बाँकी छ? कसैलाई जानकारीसम्म पनि छैन’, उनले भने, ‘देवलको पुनर्निर्माण पुरातात्त्विक विभागले आर्थिक वर्ष २०७२÷०७३ मा समेत गरेको थियो ।’
प्रदेश सरकार र स्थानीय सरकारले समेत सामान्य चासो त दिएको पाइन्छ । तर देवलभित्र रहेका मन्दिर र मूर्तिहरू नै सुरक्षित नभएको पाध्याले बताए । पछिल्लो समयमा यस मन्दिरलाई पालिकाले मुख्य प्राथमिकतामा राखेर पालिकाको चारैतिर सेलेटले बिछ्याउने कार्यसमेत सम्पन्न भइसकेको जानकारी पाध्याले दिए ।
यस मन्दिरको प्रचारप्रसार नभएका कारण पनि मन्दिर ओझेलमा परेको स्थानीय खगेन्द्रराज उपाध्यायको भनाइ छ । उनले भने, ‘अहिले स्थानीय सरकार पनि छ । यसको प्रचारप्रसार गर्न सके र विद्यार्थीहरू र बाहिरबाट आउने पर्यटकहरूलाई भित्र्याउन सके धेरै राम्रो हुन्छ ।’ यस मन्दिरको सिरानीमा खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेका कारण थलारा गाउँपालिकाले प्रचारप्रसार मात्रै गर्न सक्ने हो भने यस मन्दिरलाई अन्य जिल्ला वा देशमा चिनाउन सकिने उनले बताए ।
बझाङ जिल्लाभरि यस्तो मन्दिर कुनै पनि ठाउँमा छैन । यस्तो मन्दिर जुम्ला र अछाममा मात्रै रहेको भन्ने जानकारी आफूहरूले पाएको यहाँका बय वृद्ध नागरिकहरूको भनाइ छ । यस विषयमा यता थलारा गाउँपालिका–३ का वडा अध्यक्ष प्रकाशबहादुर भण्डारीले यसको प्रचारप्रसार र संरक्षण गर्नका लागि थलारा पालिकाले र वडाले समेत पहल गरिरहेको जानकारी दिए ।
यसको संरक्षण सानो रकमले नहुने भएका कारण यसमा प्रदेश सरकार र सङ्घीय सरकारले बजेटको व्यवस्थापन गर्न सकेको खण्डमा यसको संरक्षण पनि राम्रो हुने र यसभित्र रहेका भौतिक संरचनाहरू, मूर्तिहरू, दान पेटिकामा राखेको भेटीसमेत सुरक्षित हुने भण्डारीले बताए ।
अहिले चारैतर्फ खुल्ला रहेका कारण देवलमा चढाएको भेटी (नगद), मूर्तिहरू, र देवलहरू असुरक्षित छन्। यसको सुरक्षाका लागि र प्रचारप्रसारमा वडा र थलारा गाउँपालिका लागि परेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले बताए । रोकायाले यस मन्दिरको प्रचारप्रसार र व्यवस्थापन गर्नका लागि गत वर्ष पालिकाले दश लाख रुपैयाँ बजेट विनियोजन गरेर विभिन्न भौतिक संरचनाहरू निर्माण गरेको र यस वर्ष पनि उक्त मन्दिर व्यवस्थापन गर्नका लागि र विभिन्न भौतिक संरचना निर्माण गर्नलाई २५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।
उनले यस मन्दिरको व्यवस्थापन गर्ने कार्य यस वर्ष सक्ने लक्ष्य पालिकाले लिएको रोकायाले बताए । साथै उनले पालिकाभित्र रहेका अन्य शक्ति पीठहरूको पनि पालिकाले व्यवस्थापन र प्रचारप्रसार तथा पुनर्निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको बताए ।
यस मन्दिरको व्यवस्थापनका लागि केही वर्ष पहिला पुरातात्त्विक विभागबाट पनि केही काम भएको पाइएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताए । उनले पालिकामा बजेटको सीमितताका कारण एकै पटक सबै काम गर्न सम्भव नहुने र पटक पटक बजेट विनियोजन गरेर मठ मन्दिर तथा शक्ति पीठहरूको पुनर्निर्माण गर्न समय लाग्ने गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले बझाङ र डोटीको सिमानामा पर्ने छोटी मालिका शक्ति पीठ, माइको थान मन्दिर, वडा नम्बर ७ र ९ को सिमानामा रहेको खापरदेव मन्दिर, थलारा गाउँपालिका नजिकै रहेको डुँडे माणु शक्ति पीठ, छडीमाई तथा छडीभेल झर्ना आदिलाई थलारा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर विभिन्न काम गरिरहेको बताए ।
बजेट अपुगका कारण कतिपय गरेका कार्यहरू अधुरै राख्नुपर्ने समस्या पालिकामा रहेको बताए । यसप्रति प्रदेश सरकार र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्न सके शक्ति पीठहरूमा आन्तरिक र बाह्य पर्यटक भित्र्याएर यहाँका नागरिकहरूको आय स्तरमा वृद्धि गर्न सकिने बताए । यसमा पालिकाले चासो दिइरहेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीसहित जिल्लाको सुरक्षाको टिमसमेत देवल बाँझ मन्दिरमा पुगेर दर्शन गरेका छन् । प्रमुख जिल्ला अधिकारी ठकुराठीले धार्मिक महत्त्व बोकेका शक्ति पीठहरूको स्थानीय सरकारहरूले मुख्य प्राथमिकतामा राखेर प्रचारप्रसार मात्रै गर्न सकेको खण्डमा बझाङ जिल्लाका धेरै नागरिकहरूले बाहिरी जिल्ला रोजगारीका लागि धाउन नपर्ने आफूले देखेको बताए ।
बझाङ जिल्लामा रमणीय स्थलहरू, ठुलठुला धार्मिक शक्ति पीठहरू रहेको बताउँदै उनले भने, यस्ता शक्ति पीठहरूको प्रचारप्रसार र यिनीहरूको महत्त्व बुझाउन सके आन्तरिक र बाह्य पर्यटकहरू भित्रिने र जसका कारणले यहाँका स्थानीय बासिन्दाहरू आर्थिक रूपमा सशक्त हुने बताए ।
यस मन्दिरको अवलोकन गर्नका लागि प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमला, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक राजेन्द्र कुँवर, अनुसन्धान अधिकृत भगेन्द्रबहादुर चन्दसहित गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरूले समेत यस देबलबाँझ मन्दिरको अवलोकन गरेका थिए ।
Facebook Comments