राज्य व्यवस्था समितिको सभापति चयनका लागि सभामुखको ताकेता


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि दलहरूलाई ताकेता गरेका छन् । आज (बुधबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले यो विषयमा चासो व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार, कुनै पनि संसदीय समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । यही नियमअनुसार काम गर्न सभामुखले दलहरूलाई आग्रह गरेका छन् ।
समितिका तत्कालीन सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकको ’कुलिङ अफ पिरियड’ सम्बन्धी विवादपछि राजीनामा दिएका थिए । यो समिति नेपाली कांग्रेसको भागमा परे पनि पछिल्लो समय नेकपा एमालेले पनि यसको नेतृत्वमा रुचि देखाएको बताइएको छ ।
सभामुखको आग्रहमा दलका प्रमुख सचेतक र सचेतकहरूले भने तत्काल कुनै जवाफ दिएका छैनन् । सत्तारुढ दलहरू यस विषयमा आपसी छलफलपछि मात्र निर्णय गर्ने तयारीमा छन् ।
Facebook Comments