तीनपाटनमा पालिका प्रमुख कर्णबहादुरका मितले सरकारी औषधि बेचेर पैसा लिएपछि 'स्थानीय'ले जिम्मेवारीबाट हटाए

User Image मेयरसाप डटकम | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c823adbeb28.png

सिन्धुली । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाले आफ्ना मित रहेका सिनियर अहेब मोहनबहादुर दाहाललाई बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख बनाएका थिए । दाहालकी श्रीमती पनि सोही स्वास्थ्य केन्द्रमा करारमा कार्यरत छिन् । कर्णबहादुरकी श्रीमतीसँग दाहालकी श्रीमतीले मित लगाएकै कारण मेडिकल अधिकृत तहको प्रमुखको दरबन्दी रहेको बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेब रहेका मोहनबहादुर प्रमुख हुन पाएका थिए । प्रमुख भएका उनै दाहालले गएको भदौ २८ र २९ गते १२ वर्षकी बालिका रोजिता श्रेष्ठलगायत अन्य बिरामी उपचार गर्न जाँदा स्क्रब टाइफस र डेंगुको जाँच गर्दा प्रयोग हुने सरकारी किटको पैसा लिएका थिए । स्रोतका अनुसार उनले अरू बिरामीसँग पनि यसरी नै पैसा लिने गरेका थिए ।

सरकारले निःशुल्क उपलब्ध गराएको किटको पैसा लिएर रसिद थमाएपछि स्थानीय नागरिकहरूले औषधि निःशुल्क पाइने हो वा होइन भनेर जाँच गरेका थिए । जाँचका क्रममा यी औषधि भदौ १५ गते आसपास पालिकाले बेलघारी पठाइएकाे पाइएकाे थियो । औषधि निःशुल्क पाइने देखिएपछि स्थानीयले दाहालविरुद्ध असन्तुष्टि पोखेका थिए । करारमा त्यही संस्थामा कार्यरत उनकी श्रीमती लेखकुमारी दाहालले निःशुल्क पाउने औषधि पैसा पर्ने भन्दै बील काटिदिएपछि श्रीमान–श्रीमतीको मिलेमतोमा सरकारी औषधि बेचेर पैसा लिने गरेको प्रमाण खुलेको हो । यो प्रमाण लिएर स्थानीय नागरिकहरूले बिरोध जनाएपछि दाहालले उपाचारमा आएका व्यक्तिलाई पैसा फिर्ता गरेको मेयरसाप डटकमलाई जानकारी दिए । 

सिनियर अहेब दाहाल र उनकी श्रीमती

पैसा फिर्ता गरे पनि स्वास्थ्य केन्द्र व्यवस्थापक समिति बोलाएर स्थानीय नागरिकहरूले आज दाहाललाई जिम्मेवारीबाट हटाउन दवाव दिएका थिए । तीनपाटन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गोबिन्दबहादुर राउतले दाहाललाई आजै निर्णय गरेर स्वास्थ्य केन्द्रको प्रमुख पदबाट हटाइएको र घटनाको जानकारी पालिकामा पठाएको बताए । ‘हामी अहिले पनि मिटिङमै छौं । उहाँ (दाहाल)ले सरकारी औषधि बेचेको भन्ने गुनासो आयो । स्वास्थ्य केन्द्र व्यवस्थापकमा मेरो जिम्मेवारी महत्वपूर्ण हुने भएकाले स्थानीय नागरिकहरूले ममाथि पनि प्रश्न उठाए’, वडा अध्यक्ष राउतले भने, ‘मलाई त पालिले यहाँ कुन कर्मचारी पठाउँछ भन्नेसम्म त जानकारी हुँदैन । उहाँ प्रमुख हुनुहुन्छ । उहाँको श्रीमती पनि यहीँ कार्यरत हुनुहुन्छ । स्थानीय नागरिकसहित स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको बैठक बसेर उहाँलाई जिम्मेवारीबाट हटाइयो ।’

समितिले गरेको उक्त निर्णय पालिकामा पनि गएको छ । तर पालिका प्रमुखकै मित रहेका उनलाई कर्णबहादुरले छानबिन र कार्बाही गर्ने सम्भावन कम रहको स्थानीय नागरिकहरू बताउँछन् । मेयरसाप डटकमलाई आएको अपुष्ट जानकारी अनुसार सरकारले निःशुल्क उपललब्ध गराएका औषधिहरू पैसा लिएर स्वास्थ्य केन्द्र र इकाइका कर्मचारीहरूले बेच्ने गरेका छन् । बेचेर कमाएको पैसा  स्वास्थ्य शाखा प्रमुखदेखि अन्य सबैले भाग लगाएर बाँड्ने गरेको बताइएको छ । तीनपाटन स्वास्थ्य शाखा प्रमुख रामबेचन साहलाई किन सरकारी औषधि बिक्री गर्न दिएको भने प्रश्न गर्दा उनले सरकारी औषधि बिक्री नगरेको र स्क्रब टाइपस र डेंगुको किट सरकारले थोरै पठाएका कारण स्वास्थ्य सेवा केन्द्रहरूले किनेर ल्याएको र त्यही अनुसार पैसा लिएर बेचेको भनेर घटनाको ढाकछोप गरे ।  सिनियर अहेब मोहनबहादुर दाहाललाई ‘तपाईँले किन सरकारी औषधि बेचेको ?’ भनेर प्रश्न गर्दा उनले साउनमा स्क्रब टाइपस र डेंगुको किट बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रले किनेर ल्याएको र उपचारमा आउनेहरूलाई पैसा लिएर प्रयोग गरिदिने गरिएको तर भदौंमा सरकारी किट स्वास्थ्य शाखाबाट पठाइएको र त्यो किटको प्रयोग सुरू गरिएको आफूलाई जानकारी नभएकोले सरकारी औषधिकाे बील झुक्किएर काटिएकाे बताए ।

‘निःशुल्क पाउने किट नआएपछि साउनमा हामीले खरिद गरेर ल्याएको हो । निःशुल्कको किट भदौंको १५ गतेतिर आयो । बिरामीको उपचार भदौं २९ गते गरेको हो’, दाहालले अप्ठ्यारो मान्दै भने, ‘हाम्रो ल्याबमा नयाँ टेक्निसियन आउनुभएको छ अहिले । बिनिता आले । हामीले माग गरेको अब उहाँलाई नै जिम्मा लगाउँछौं सर । किनेर ल्याएको किट सकियो । निःशुल्क बाँकी छ भनेर उहाँले भन्नु भएन । त्यही भएर निःशुल्क किटको पैसा लिने अवस्था भयो ।’ दाहाललाई हामीले सशुल्क र निःशुल्क औषधि कुन हो र कति छन् भनेर जानकारी नहुने तपाईँ कसरी एउटा स्वास्थ्य केन्द्रको प्रमुख हुनुभयो भनेर प्रश्न गर्यौ । उनले अक्मकिँदै बिनिता आलेले जानकारी नदिएका कारण यस्तो घटना घटेको भनेर तर्किने जवाफ दिए । 

दाहाललाई बेलाघारीका स्थानीय नागरिकले भ्रष्टाचारको आरोपमा आफ्नो ठाउँमा रहेको बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रबाट हटाइदिएका छन् । उनलाई पालिका अध्यक्ष कर्णबहादुर थापाले अब कता व्यवस्थापन गर्छन, त्यो भने हेर्न बाँकी छ । कर्णबहादुर थापा आफैँ पालिकाबाट प्राप्त हुने डिजेलमा पाउनेभन्दा धेरै गुणा बढीको बील देखाएर पैसा लिएको आरोपमा भ्रष्टाचारमा मुछिएका छन् । उनले खाना–खाजा शीर्षकमा जनताको लाखौं रुपैयाँ पनि दुरुपयोग गरेको प्रमाण मेयरसाप डटकमले प्राप्त गरेर समाचार प्रकाशन गरिसकेको छ । दोस्रो कार्यकाल तीनपाटन गाउँपालिकाको प्रमुख भएका थापाले आफन्त र कांग्रेसका कार्यकर्तालाई जथाभावी करारमा जागिर लगाएको आरोप पनि लाग्ने गरेको छ । थापाले अदृश्य शीर्षकमा पालिकाको बजेट दुरुपयोग गरेर घाटा बजेट बनाई पछि आउने जनप्रतिनिधिहरूलाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना गरेको आरोप पनि लागेको छ ।

याे पनि पढ्नुहाेस् 

कानुनविपरीत इन्धन, खाना–खाजा र बैठक भत्ता लिन्छन् तीनपाटनका अध्यक्ष–उपाध्यक्ष

राज्यकोषको दुरूपयोगः पार्टीका सभा र प्रशिक्षणमा तीनपाटन गाउँपालिकाको लगानी

 


Facebook Comments