पुनर्निर्माण र निर्वाचनका लागि बजेटको स्रोत खोज्न कार्यदल गठन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c92431f35c0.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनले क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण र आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि बजेटको स्रोत जुटाउन अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले हालको बजेटमा रहेका केही योजना तथा कार्यक्रमहरू कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गर्न कार्यदल बनाइएको जानकारी दिएका छन् ।

सोमबार मात्रै कार्यभार सम्हालेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजनीतिक दबाबमा परेका, पूर्वतयारी नभएका र टुक्रे योजनाहरू कटौती गरेर पूरक बजेट नल्याइकन नै करिब रु एक खर्ब बराबरको स्रोत जुटाउन सकिने बताएका थिए ।


Facebook Comments