सडक सहज नभएकाले दसैँको अग्रिम बुकिङ खोल्न समस्या


काठमाडौं । यस वर्षको दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ भन्ने अन्योल बढेको छ । सडकको अवस्था हेरेर मात्रै यसको निर्णय हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वारका अनुसार, देशभरका विभिन्न सडकहरू पूर्ण रूपमा सञ्चालनमा नआएका कारण अग्रिम बुकिङ खुलाउन समस्या भएको हो ।
उनले सवारीसाधन उपत्यका भित्रिनै समय लागेकाले बुकिङ खोलेर पनि गाडी पुगेन भने झन् समस्या हुने बताए । यद्यपि, दुई–तीन दिनपछिको टिकट भने बसपार्कबाटै लिन सकिने उनले जानकारी दिए ।
यता, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सडक विभागसँग समन्वय गरेर सडक सुधार गरिरहेको बताए । उनले यस वर्ष ठूलो वर्षा नभए समस्या नहुने विश्वास व्यक्त गरे ।
पोखरेलले व्यवसायीहरूलाई दसैँका लागि भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारीसाधनको मर्मत गर्न र क्षमताभन्दा बढी यात्रु नबोक्न पनि आग्रह गरेका छन् ।
प्रहरी प्रधान कार्यालयका वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पनि यात्रुको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Facebook Comments