जेनजी प्रदर्शनले क्षतिग्रस्त बिर्तामोड नगरपालिकाको सरसफाइ सुरु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c95267e7106.jpg

बिर्तामोड । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले संयुक्तरूपमा सरसफाइ थालेका हुन् ।

नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको थियो । आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरणलगायत सामान नष्ट भएका छन् ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्रकुमार सङ्ग्रौलाले प्रारम्भिक अनुमान अनुसार करिब रु पाँच करोडको क्षति भएको जानकारी दिए । भवनसँगै कागजात जलेर नष्ट भएपछि सेवाप्रवाहमा कठिनाइ भएको बताए ।

सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । नगरपालिकाले क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । तत्काल सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेको छ ।


Facebook Comments