पार्टी एकताको प्रयास सफल भए महाधिवेशन हुँदैन : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रयास सफल भए आगामी मंसिरमा महाधिवेशन नहुने बताएका छन् । आज बसेको स्थायी कमिटीको बैठकमा उनले यस्तो संकेत दिएको स्रोतले जनाएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न दलहरूसँग पार्टी एकताको प्रयास भइरहेको जानकारी दिएका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि एकताको विषयमा छलफल चलिरहेको बताइएको छ ।
प्रचण्डको यस अभिव्यक्तिले पार्टीको आगामी महाधिवेशन मंसिरमै हुनेमा शंका पैदा भएको छ । यद्यपि, पार्टी प्रवक्ता अग्नि सापकोटाले महाधिवेशन गर्नुअघि सबै पार्टी कमिटी भंग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने जानकारी दिएका छन् ।
यसका लागि असोज ९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ, जसले औपचारिक रूपमा कमिटी विघटनको निर्णय गर्नेछ ।
Facebook Comments