दशैँको रौनकसँगै हेटौंडाको खसी बजारमा भीड

हेटौंडा । दशैँ नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौंडास्थित खसी बजार मा किनमेलका लागि उपभोक्ताको घुइँचो लाग्न थालेको छ । शनिबारदेखि निरन्तर देखिएको चहलपहलले व्यापारी र किसान दुवैको व्यापार उकालो लागेको छ ।
मकवानपुरका विभिन्न गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्ग्राहरू यहाँ बिक्रीका लागि ल्याएका छन् । उपभोक्ताहरू दशैँका लागि खसी किनमेलमा सक्रिय हुँदा बजारमा माग उच्च छ ।
यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको व्यापारीहरूले बताएका छन् । व्यापार राम्रो भए पनि किसानहरूले राप्ती खोलाको किनारमा रहेको खसी बजारको अव्यवस्थित अवस्था प्रति गम्भीर गुनासो गरेका छन् ।
किसानहरूका अनुसार उचित पूर्वाधार र व्यवस्थापनको अभाव मा लाखौँको सङ्ख्यामा खसी बोका ल्याइँदा बाटो अवरुद्ध हुने र किनमेलका क्रममा ज्यानको जोखिम समेत हुने गरेको छ । उनीहरूले किसान र उपभोक्ता दुवैलाई भइरहेको असुविधालाई ध्यानमा राख्दै हेटौंडा उपमहानगरलाई बजार व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह गरेका छन् ।
Facebook Comments