केपी ओलीको निवास घेराउ नगर्न सुदन गुरुङको अपिल


काठमाडौं । ’हामी नेपाल’ का संयोजक सुदन गुरुङले भावना तीव्र भए पनि हिंसात्मक गतिविधि वा कसैको घरलाई निशाना बनाउनु समस्याको समाधान नभएको भन्दै अपिल गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्न जानुपर्ने भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि गुरुङले फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।
गुरुङले यस्ता कार्यहरूले देशलाई ठूलो क्षति पुर्याउने र उनीहरूले खोजेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्ने उल्लेख गरे ।
उनले जेनजी पुस्ताको शक्ति देखाउने अवसर तोकिएको निर्वाचन भएको बताए । गुरुङले लेखेका छन्, ‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन ।’
उनले सबैलाई शान्तिपूर्ण, अनुशासित र साहसका साथ निर्वाचनको तयारीमा लाग्न ऊर्जा प्रयोग गर्न आग्रह गर्दै जेनजी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ भन्ने सन्देश दिन आह्वान गरे ।
Facebook Comments