माछापुच्छ्रे मुस्कुराउँदै, पोखरा सुनसान
No Author Assigned | २०८२ असोज ११ गते ११:०७
पोखरा । पर्यटकीय आकर्षणको केन्द्र पोखरा मा दशैँ नजिकिँदै गर्दा र पर्यटनको मुख्य सिजन सुरु हुँदा पनि पर्यटकको आगमन निराशाजनक बनेको छ । पृष्ठभूमिमा मनमोहक माछापुच्छ्रे मुस्कुराए पनि पर्यटकीय सहर पर्यटकको प्रतीक्षामा सुनसान छ ।
होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार यस याममा सामान्यतया ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको छ । सेप्टेम्बर महिनामा मात्रै ४० प्रतिशतसम्म बुकिङ रद्द भएको उहाँले जानकारी दिए ।
प्रारम्भिक अनुमानअनुसार पोखराका ठूला, मध्यम र साना होटल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीसहित पर्यटनसँग जोडिएका व्यवसायमा करिब रु साढे दुई अर्ब बराबरको क्षति भएको छ ।
पोखराको पर्यटन क्षेत्रमा करिब रु आठ खर्ब बराबरको लगानी रहेको र यस क्षेत्रमा करिब १५ हजारले रोजगारी पाएको बताइन्छ । पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले पछिल्लो घटनाले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
यस चुनौतीलाई सामना गर्न नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि ‘आइ एम इन नेपाल नाउ’ ह्यासट्याग अभियान सुरु गरेको छ । बोर्डले सामाजिक सञ्जालमार्फत नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह गर्न ’रियल–टाइम स्टोरी’ हरू उत्पादन गरिरहेको जनाएको छ ।
Facebook Comments