मकवानपुरका पत्रकारलाई ओपीडी सेवा निःशुल्क, सहकारी अस्पतालसँग स्वास्थ्य उपचार सम्झौता
हेटौँडा । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले आफ्ना सदस्य पत्रकारहरूको स्वास्थ्य उपचारका लागि मकवानपुर सहकारी अस्पतालसँग महत्त्वपूर्ण सम्झौता सम्पन्न गरेको छ । शनिबार हेटौँडामा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार, महासङ्घका सदस्य पत्रकारहरूले अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवामा निःशुल्क उपचार पाउनेछन् । साथै, उनीहरूले स्वास्थ्य परीक्षण र औषधि खरिदमा १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । पत्रकारहरूले महासङ्घको परिचयपत्र देखाएर यी सुविधा लिन सक्नेछन् ।
महासङ्घ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी र मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतामा पत्रमा हस्ताक्षर गरेका हुन् ।
महासङ्घका अध्यक्ष अधिकारीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको उल्लेख गर्दै यो सम्झौताले पत्रकारहरूलाई नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
अस्पतालका अध्यक्ष दाहालले पत्रकारहरू समाजको महत्त्वपूर्ण हिस्सा भएकोले उनीहरूको स्वास्थ्यमा योगदान पुर्याउन पाउँदा खुसी लागेको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाए ।
चाडपर्वको अवसरमा आयोजित यस कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको थियो । यो सम्झौताले मकवानपुरका पत्रकारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
Facebook Comments