ओली र बस्नेतमाथिको निर्णय नसच्चाए भयानक आन्दोलन गर्ने युवा संघकाे चेतावनी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68db823239d40.jpg

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेले विज्ञप्ति जारी गर्दै उक्त निर्णय विशुद्ध शंका र पूर्वाग्रहका आधारमा र अत्यन्तै हलुका ढङ्गले गरिएको अराजनीतिक कार्य भएको आरोप लगाएका छन् । उनले आयोगको यो निर्णय निष्पक्ष छानबिनको पक्षमा नरहेको र प्रारम्भमै अपराधी करार गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढङ्गले मुद्दा चलाउन लागेको आरोप लगाएको छ । भदौ २४ गते विध्वंसकारी गतिविधिमा संलग्नलाई नियमित कानूनी प्रक्रिया अन्तर्गत कारबाही नचलाउने गृह मन्त्रालयको निर्णयले दण्डहीनतालाई प्रश्रय दिने भन्दै उक्त निर्णय सच्याउन माग गरिएको छ ।

युवा संघले वर्तमान सरकारलाई आगामी फागुन २१ गतेको आम चुनाव गराउने मूल जिम्मेवारीमा केन्द्रित हुन र राजनीतिक प्रतिशोधको गलत बाटोमा नलाग्न सचेत गराएको छ ।


Facebook Comments