इन्डोनेसियामा विद्यालयको भवन ढल्दा दर्जनौँको ज्यान गयो , उद्धार कार्य जारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dbb3ffb7f4e.jpg

काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभास्थित सिडोआरजोमा रहेको अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलको भवन ढल्दा ठूलो दुर्घटना भएको छ ।

मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि उद्धार कार्य जारी छ, जसमा करिब ६५ जना विद्यार्थी भग्नावशेषमा फसेको अनुमान गरिएको छ ।

दुर्घटनामा कम्तीमा एक जना १३ वर्षीय विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना घाइते लाई अस्पताल पुर्याइएको छ ।

उद्धारकर्मी, प्रहरी र सेनाले रातभरि प्रयास गरेर आठ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकालेका छन् । भग्नावशेषमा फसेका बाँचेकाहरूलाई अक्सिजन र पानी उपलब्ध गराइएको छ ।

अस्थिर कङ्क्रिटको जोखिमका कारण मङ्गलबार बिहान उद्धार कार्य अस्थायी रूपमा रोकिएको थियो । मृतकको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता जुल्स अब्राहम अबास्टका अनुसार दुर्घटनाग्रस्त भवन अनधिकृत रूपमा विस्तार गरिएको संरचना थियो । दुई तले पुरानो जगमा अनुमति बिना थप दुई तला थपिएपछि पुरानो जगले कङ्क्रिटको भार थेग्न नसकेर भवन ढलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बेपत्ता विद्यार्थीहरू प्रायः १२ देखि १७ वर्ष उमेर समूहका रहेको जनाइएको छ । आफ्ना प्रियजनको खबरको प्रतीक्षामा अभिभावकहरू घटनास्थल र अस्पताल वरिपरि भेला भएका छन् ।


Facebook Comments