पर्यटन क्षेत्रबाट अन्नपूर्ण गाउँपालिकाले गर्यो १ करोड १५ लाख आम्दानी


म्याग्दी । चालु आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट रु एक करोड १५ लाख आम्दानी गरेको छ । गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवेश शुल्क सङ्कलन र आय ठेक्काबाट यो आम्दानी भएको हो ।
पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन र चिया पसल/चमेनागृह सञ्चालनका लागि ठेक्का लगाइएको थियो । गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डको ठेक्का रु ५० लाख एक हजारमा लागेको छ, जसको सम्झौता दशैँलगत्तै हुनेछ ।
पुनहिलको प्रवेश शुल्क र चिया पसल बाट रु ५० लाख, पाउद्वार तातोपानी कुण्ड बाट रु २५ लाख र रातोपानी बाट रु तीन लाख आम्दानी भएको छ ।
गत वर्ष पर्यटनबाट रु एक करोड २७ लाख आम्दानी गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ, जसमा पर्यटकीय स्थलहरूको योगदान प्रमुख छ ।
गाउँपालिकाले पर्यटकीय स्थलको पूर्वाधार विकास र प्रवद्र्धन गरी स्थानीयको जीवनस्तर सुधारसँगै आन्तरिक राजस्व बढाउन जोड दिएको छ । यहाँ पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, रुप्से छहरा, र अन्नपूर्ण प्रथम हिमाल लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू रहेका छन् ।
Facebook Comments