युवकले पसलको सामान चोरी गरे, अभिभावकलाई सुनाउँदा उल्टै कुटपिट गरेर ह*त्या

‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै कुटपिट गरेर ह*त्या

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deadbody1662053113.jpg

सिरहा । यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ । 

आज बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो । 

कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् । आज एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गरिन् र त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् । 

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments