बझाङमा बढ्दै जबरजस्ती करणीका घटना: पीडक जेलमा, किशोरीहरू अलपत्र
अविवाहित किशोरीले जन्माइन् बच्चा
डीबी विष्ट
|
४ घण्टा अगाडि
बझाङ । बझाङमा १६ वर्षीया एक अविवाहित किशोरीले नवजात शिशु जन्माइन् । उक्त बच्चा कसको हो भन्ने गाउँमा ठुलै हल्ला चल्यो । बच्चा गर्भमा हुँदा नै गर्भपतन गराउनका लागि उनको परिवारले ठुलै कोसिस गरे । समयभन्दा बढी भएका कारण गर्भपतन गराउन स्वास्थ्य संस्थाहरूले नमानेपछि उनको गर्भबाट बालक जन्मियो । बालकलाई जन्माउनु उनको रहर नभई बाध्यता थियो ।
दलित समुदायकी उक्त किशोरीले माइती घरमा नै बालक जन्माएकी हुन् । उक्त बच्चा कसको भन्ने अनुसन्धान गर्दै जाँदा गाउँकै ७० वर्षीय वृद्धको भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भयो । बालिकाको उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले बालिकालाई उनकै अभिभावकको जिम्मा लगायो । पीडक ७० वर्षीय गम्भीरे सार्कीमाथि प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गर्यो ।
बालिकाले पनि आफ्नो गर्भमा रहेको सन्तान सोही वृद्धको भएको बयान दिइन् । पीडित किशोरीले महिला सेफ हाउसमा दिएको बयानमा भने उक्त वृद्ध र एक जना अर्का पुरुषको पनि नाम लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणीको मुद्दा दर्ता गरी ७० वर्षीय वृद्धलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
आरोपी वृद्ध अहिले जिल्ला कारागार बझाङमा छन् भने, किशोरी र उनीबाट जन्मिएको नाबालकको बिचल्ली भएको छ । उनको यो घटनाको अहिले सम्म कुनै टुङ्गो लागेको छैन । कानुनी प्रक्रियामा आएर पनि आफूबाट जन्मिएको बालक र आफू कता जाने? के गर्ने? भन्ने अन्योलमा छिन् उनी । माइती पक्षले आश्रय दिएर बसेकी किशोरी पटक पटक मरितुल्य हुनु परेको उनको गुनासो छ ।
एकातिर समाजले अनेकन् लाञ्छना लगाउने र अर्कातर्फ उनको जाने बाटो कहीँ छैन । उनीबाट जन्मिएको शिशुको नागरिकता तथा जन्मदर्ता सम्म पनि नपाउने अवस्था छ । यस्ता पीडित व्यक्तिहरूका लागि के गर्ने भन्ने कुरा कुनै पनि नियममा उल्लेख गरेको पाइँदैन । नियममा आरोपीलाई कानुनी कठघरामा उभ्याइने भनियो । तर पीडितले के गर्ने? कसरी जीविकोपार्जन गर्ने भन्ने कानुनी व्यवस्थामा उल्लेख भएको पाइँदैन । पीडित किशोरी भन्छिन्, ‘मैले मर्नु कि बाँच्नु? जीवित भएर पनि पटक पटक मर्नु परेको छ ।’
यस्तै बझाङकै अर्को घटना अन्तर्गत काका भतिजीबीच भएको अनैतिक सम्बन्धबाट १८ वर्षीया किशोरीबाट एक बालकको जन्म भयो । पुरुषविरुद्ध माइती पक्षले जबरजस्ती करणी र हाडनाता करणीमा मुद्दा दर्ता गरे । ती पुरुषलाई कानुनी प्रक्रियामा ल्याएर जिल्ला अदालत बझाङले ११ वर्ष कैद सजायको फैसला गर्यो । पुरुषलाई कानुनी प्रक्रियामा ल्याए पनि किशोरीको उमेर १८ वर्ष पूरा नभएपछि उनलाई आफन्तको जिम्मा लगाउन खोजियो । आफन्तहरूले उनलाई लिन नमानेपछि उनी अहिले महिला सेफ हाउसमा आश्रय लिएर बसेकी छिन् ।
उनले महिला सेफ हाउसमा नै शिशुलाई जन्माइन् । नाबालक शिशु अहिले डेढ महिनाको पुगेको छ । पीडक कारागार चलान भएको, महिला र उनीबाट जन्मिएको नाबालकको जिम्मा कसले लिने? कसरी जीविकोपार्जन गर्ने? भन्ने कुराको टुङ्गो सम्म पनि लागेको छैन । किशोरी महिला सेफ हाउसमा बसेको ७ महिना पुग्न लाग्यो । उनलाई समाजमा कसरी फर्काउन सकिन्छ र कसरी नाबालकको जन्मदर्ता गर्ने भन्ने कुराको कुनै अत्तोपत्तो छैन ।
यस्तै बझाङकै १४ वर्षीया एक किशोरी र २१ वर्षीय एक किशोरबीच प्रेम सम्बन्ध थियो । दुवै जनाको सहमतिमा भागी विवाह समेत गरे । विवाह गरेको केही महिना नपुग्दै ती किशोरले कुटपिट गर्न थालेपछि किशोरी फर्केर माइती घरमा पुगिन् । आफ्नो छोरीलाई कुटपिट गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे । महिलाको उमेर नपुगेका कारण किशोरका आफन्तले जबरजस्ती करणीमा मुद्दा दर्ता गरे । किशोरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो ।
केही महिना आरोपी किशोरको घरमा बसेकी किशोरीको गर्भमा बच्चा बसेको माइती पक्षलाई थाहा भयो । माइती पक्षले किशोरीलाई गर्भपतन गराउन दबाब दिए । गर्भमा बच्चा बसेको समय बढी भएका कारण स्वास्थ्यकर्मी तथा अस्पतालमा गर्भपतन गराउन मानेनन् र उक्त किशोरीले पनि आफ्नो गर्भमा रहेको बच्चालाई गर्भपतन नगराउने र जन्म दिने भन्दै आफ्नो अडान छोडिनन् ।
छोरीले भनेको नमानेपछि उनको माइती पक्षले नै उनको वास्ता गर्न छोडिदियो । छोरी आफ्ना लागि मरेको भन्दै आफ्नो अनुहार नदेखाउन भन्दै माइती पक्ष आफ्नो बाटो लागे । यता किशोर पुर्पक्षका लागि कारागार चलान भए । ती किशोरीले भने बालकलाई जन्म दिइन् । अहिले किशोरी महिला सेफ हाउसकै निगरानीमा छिन् । अबका दिन के गर्ने? कसरी अघि बढ्ने? भन्ने उनलाई ठुलो अन्यौलता छ । कानुनले पीडक पक्षको जिम्मा लगाउन मान्दैन । माइती पक्षले उनलाई स्वीकार गर्दैनन् । धेरै महिनासम्म पीडितहरूलाई आश्रय दिएर राख्न सक्ने वातावरण सेफ हाउसमा छैन । सेफ हाउसको आयस्रोत नभएका कारण पीडित महिलाहरूले झन् समस्या झेल्नु परेको छ । दुवै ठाउँबाट अलपत्र अवस्थामा रहेका यस्ता पीडित महिलाहरू धेरै छन् । जो आत्महत्या गरेर मर्न बाध्य हुन्छन् । यस विषयमा कुनै पनि सरोकारवाला निकायहरूले चासो दिएको पाइँदैन ।
पछिल्लो समयमा समाजमा हाडनाता करणी तथा जबरजस्ती करणीका घटना दिन प्रतिदिन बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्कमा उल्लेख छ । तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने दिनप्रतिदिन जबरजस्ती करणीका घटनाहरू बढ्न थालेका छन् । केही घटनाहरू भने समाजमा नै गुपचुप रहने गरेको समेत पाइन्छ । छोरी मान्छेको इज्जत जाने भन्दै गुपचुप रहने गरेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।
जबरजस्ती करणीका घटना बढेको भन्दा पनि कानुनी बाटो भएर आउने क्रम बढेको उनीहरूको भनाइ छ । पहिले समाजमा अज्ञानता तथा साक्षर दर र नियम कानुनका बारेमा जानकार नभएर समाजमा नै यस्ता घटनाहरू गुपचुप रहने गरेका थिए । अहिले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले समाजमा महिला सशक्तीकरण र विभिन्न सचेतना मूलक कार्यक्रमहरू गर्न थालेपछि यस्ता घटनाहरूको उजुरी गर्ने दर बढेको नागरिक समाजका अगुवा दिर्घराज जोशीले बताए ।
उनले भने, ‘जबरजस्ती करणीमा परेका पीडित भएका महिलाहरूको अवस्था दर्दनाक छ । माइती पक्षले केटालाई उजुरी हाल्ने उमेर नपुग्दै विवाह गर्दा जबरजस्ती करणीमा मुद्दा दर्ता भएर पुरुष कारागार चलान हुने र केटीलाई माइती पक्ष र पोइली पक्ष दुवैले स्वीकार नगर्दा पीडित पक्षले झन् पीडित हुनु पर्छ ।’
यता जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करणीमा १० वटा केस, जबरजस्ती करणी उद्योगमा २ वटा मुद्दा र बाल यौन दुर्व्यवहारमा १ मुद्दा गरी जम्मा १३ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा जबरजस्ती करणीमा ११ वटा मुद्दा, जबरजस्ती करणी उद्योगमा ४ वटा मुद्दा र १ वटा बाल यौन दुर्व्यवहार गरी जम्मा १६ वटा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले बताए ।
यस्तै, आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणीमा १२ मुद्दा र जबरजस्ती करणी उद्योगमा १ गरी जम्मा १३ वटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा गएको पाइन्छ । यस आर्थिक वर्ष २०८२/०८३ को हाल सम्म भने जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीमा ३ वटा मुद्दा र जबरजस्ती करणी उद्योगमा १ गरी हाल सम्म ४ वटा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक धमलाले बताए ।
Facebook Comments