हेटौंडाको सहिद स्मारकमा पर्यटकको आकर्षण बढ्दै, डिजिटल टिकट लागू गर्ने तयारी
मेयरसाप डेस्क
मकवानपुर । हेटौंडाको सहिद स्मारक पार्क आन्तरिक एवं बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ । सहिद स्मारकको अवलोकन गर्न अहिले दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन ।
विभिन्न कालखण्डमा आफ्नो जीवनको आहुती दिने सहिदहरूको प्रतीकस्वरूप १२ जना सहिदका मुखाकृति एउटै ढुंगामा कुँदेर स्थापना गरिएको सहिद स्मारक पर्यटकहरूलाई आकर्षण गर्न सफल भएको छ ।
३० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सहिद स्मारकमा आकर्षण गर्न पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएको छ । पर्यटकलाई आकर्षण गर्न जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, आकर्षक उद्यान, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, स्वीमिङपुल आदिको पूर्वाधार निर्माण गरेको छ ।
सार्वजनिक बिदा र शनिबारका दिन सहिद स्मारकमा थामिनसक्नु आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन । बिशेषगरि उक्त स्मारकमा असोजदेखि माघ महिनाको अन्तिमसम्म पिक्निक गर्नेको घुइँचो लाग्ने गर्छ ।
स्मारकमा घुम्न आएका काठमाडौंकी सविना श्रेष्ठ भन्छिन्, “पहाडको छेउमा हरियाली र शहरको दृश्य एकै ठाउँमा देख्न पाइने यो ठाउँ निकै रमाइलो छ। रातिसम्म खुला हुने भएकाले हामी जस्ता बाहिरबाट आएका पर्यटकका लागि सहज भएको छ।”
यस क्षेत्रको प्रमुख पर्यटकीय स्थल बनेको सहिद स्मारक पार्क राति १० बजेसम्म खुला रहने गर्दछ । स्मारकमा विशेषगरी हेटौंडा र वरपरका जिल्लाबाट घुम्न आउनेहरू मात्रै नभई काठमाडौं, चितवन, बारा, पर्सा, सर्लाही, र नवलपुर क्षेत्रका पर्यटकहरूको पनि आउने गर्दछ ।
दशैं र तिहारलगायत चाडपर्वको समयमा त यहाँ दैनिक हजारौँ पर्यटक आउने गर्छन् । सँगै पार्कमा रहेका विश्रामस्थल, खेलमैदान, नन्दनवन, झरनाको दृश्य र हरियालीले आगन्तुकलाई थप आकर्षित बनाएको छ।
प्रवेश शुल्क नै सहिद स्मारकको मुख्य आर्थिक स्रोत हो । स्मारकमा प्रवेश गर्न आन्तरिक पर्यटकको लागि रु. ४०, विद्यार्थीको लागि रु. २५, सार्क राष्ट्रभित्रको पर्यटकको लागि रु. ७५ र सार्क राष्ट्र बाहेकका बाह्य पर्यटकको लागि रु. १३५ का दरले प्रवेश शुल्क लिने गरेको छ । त्यसैगरी चुलो पिक्निकको लागि रु. ३५० र ड्राई पिक्निको लागि रु. १०० शुल्क लिने गरेको छ ।
हेटौंडा उपमहानगरले पछिल्ला वर्षहरूमा यहाँको व्यवस्थापनलाई सुदृढ गर्दै लगेको छ । पार्कभित्र शौचालय, बत्ती, विश्रामकुर्सी, क्याफे, टिकट काउन्टर र सुरक्षा व्यवस्था गरिएको छ। विशेष गरी युवाहरूका लागि फोटो र भिडियो बनाउन उपयुक्त स्थल बनेको छ।
हेटौंडा उपमहानगरपालिका–११ का वडाध्यक्ष विष्णु थापाका अनुसार “स्मारकलाई अझ व्यवस्थित बनाउन आगामी वर्ष थप सौन्दर्यीकरण र डिजिटल टिकट प्रणाली लागू गर्ने तयारी भइरहेको छ। यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।”
पर्यटकको चहलपहल बढेसँगै यस क्षेत्रमा व्यापार व्यवसाय समेत बढेको छ । स्थानीय व्यवसायीहरूका अनुसार होटल, रेस्टुरेन्ट र साना पसलमा समेत राम्रो व्यापार हुने गरेको छ । विशेषगरी शनिबार र सार्वजनिक बिदाको दिन यहाँ पार्किङमा गाडी राख्न ठाउँ नै पाइँदैन । राति १० बजेसम्म खुला रहने हुँदा सहिद स्मारक अहिले हेटौंडा शहरको सांस्कृतिक पर्यटन केन्द्रको रूपमा विकसित हुँदै गएको छ।
Facebook Comments